ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष बिक्री रोक्न माग गरेको छ । महासंघले अनावश्यक प्रचारबाजी रोकेर डिलरमार्फत नै ग्यास बिक्री गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेता–डिलर) लाई छोडेर सिँधै उद्योग र निगम तथा अन्य केन्द्रमार्फत ग्यास बेच्ने कामले ग्यासको अभाव थप जटिल बनेको जनाएका हुन् । उनले सरकारको यस्तो कदमबाट उपभोक्ताले अझै बढी अनावश्यक सास्ती खेप्नुपरेको जनाउँदै ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्नुपर्ने बताएका छन् ।
बिक्रेताले ग्यास नपाउने र अनुगमनको नाममा बिक्रेताले नै दुःख पाउने अवस्था सरकारकै कारण सिर्जना भएको महासंघको आरोप छ । साथै, सरकारी स्टन्टकै कारण बजार अस्तव्यस्त बनेको महासंघको बुझाई छ । महासंघले सरकारको यो कदमको विरोध गरेको छ ।
महासंघले ग्यासका डिलरमार्फत मात्रै वितरण प्रणाली मिलाए समस्या समाधान हुने महासंघको दाबी छ ।









