यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको छ । कार्तिक कृष्ण औँसीका दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआरधना गर्ने चलन छ । यस रातलाई सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मीले सफा र उज्यालो ठाउँमा मात्र बास बस्ने जनविश्वास रहेकाले घरको आँगनदेखि कोठा, चोटा र कौसीसम्म सफा गरी बत्ती बालिन्छ । घरका झ्याल, ढोका, कौसी र कौनाहरूमा दियो, मैनबत्ती तथा झिलीमिली बत्तीबाली उज्यालो पारिन्छ ।
आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइन्छ । धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मी पूजामा पञ्चोपचार वा षोडशोपचार विधि अपनाइन्छ । यसमा दियो, कलश, गणेश, महालक्ष्मी, महाकाली, महासरस्वती र कुबेरको समेत आह्वान गरी विधिपूर्वक पूजा गरिन्छ। लक्ष्मी स्थापना गरी फूल, अक्षता, धूप, दीप, नैवेद्य र पञ्चामृत चढाएर आरती गरिन्छ ।
गणेश, गौरी, कलश, नवग्रह र महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । आजको साँझ घरघरमा युवतीहरू तथा समूहहरू जम्मा भई भैलो खेल्ने परम्परा छ ।










