संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदामा देशभरका कम्प्युटर अपरेटरहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विविध सेवा अन्तर्गत कार्यरत कम्प्यूटर अपरेटरहरूको बढुवा सम्बन्धी व्यवस्था परिवर्तन गर्न लागिएको भन्दै कम्प्यूटर अपरेटरहरूले ध्यानाकर्षण गराएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले नेपाल प्रशासन सेवा समूहमा बढुवा हुने विद्यमान व्यवस्था कायम राख्न माग गरेका छन् । प्रचलित कानुनी व्यवस्था, सर्वोच्च अदालतको आदेशको नजिर देखाउँदै यस्तो माग गरेका हुन् ।
लोक सेवा आयोगको विज्ञापनपछि निजामती सेवा नियमावली, २०५० को नियम ८८ संशोधन गरेर विविध सेवाका कम्प्यूटर अपरेटरहरूलाई नेपाल प्रशासन सेवामा बढुवा हुने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयमा ध्यानाकर्षण पत्र ुझाएका छन् । उक्त व्यवस्था परिवर्तन नगर्न उनीहरुको माग छ ।
यसैगरी, विविध सेवामा कार्यरत कम्प्यूटर अपरेटरहरूलाई जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणीमा बढुवा हुन पाउने सर्वोच्च अदालतको आदेशको नजिरसमेत उनीहरुले देखाएका छन् ।
हाल विद्यमान प्रावधान परिवर्तन गरिँदा देशभर कार्यरत करिब १ हजार कम्प्यूटर अपरेटरहरूको वृत्ति विकासमा प्रत्यक्ष असर पर्नेसमेत उनीहरुको दाबी रहेको छ ।
साथै, मस्यौदामाथि देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत पनि ध्यानाकर्षण बुझाउने क्रम जारी रहेको उनीहरुको भनाइ छ ।













