Thursday, June 25, 2026
spot_img

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

spot_img
spot_img

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता रहेको जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको समाचार प्रकाशन गरेको थियो। स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले सन् २०२६ जुन ५ देखि लागू हुने गरी जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको समाचार प्रकाशन भएको थियो।

तर सो समाचारबारे स्काईवेलले आपत्ति जनाउँदै बिजनेशपानालाई ३ बुँदे खण्डन पठाएको छ ।

स्काईवेलले पठाएको खण्डन जस्ताको तस्तै : 

तपाईंको लोकप्रिय भनिएको अनलाइन समाचार पोर्टल Business पाना . Com (URL: https://businesspana.com/) मा मिति २०८३ असार ८ गते “स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)” (समाचार लिङ्क: https://businesspana.com/business/auto/38984/) शीर्षकमा प्रकाशित समाचारप्रति जी मोटर्स प्रा. लि. को गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त समाचार पूर्ण रूपमा भ्रामक, असत्य, एकतर्फी र हाम्रो व्यावसायिक प्रतिष्ठा (Goodwill) मा गम्भीर आघात पुर्‍याउने बदनियतले प्रेरित देखिएकाले पत्रकार आचारसंहिता बमोजिम यो खण्डन पत्र प्रेषित गरेका छौँ। उक्त समाचारमा दाबी गरिएका बुँदाहरू र त्यसको वास्तविक तथ्य विवरण निम्नानुसार स्पष्ट गर्दछौँ:

१. अदालतमा विचाराधीन (Sub-judice) मुद्दाको उल्लंघन

जी मोटर्स प्रा. लि. र चिनियाँ उत्पादक कम्पनी (Jiangsu Skywell Automobile Co. Ltd.) बीचको व्यावसायिक सम्झौता र डिलरसिपको विवाद हाल सम्मानित उच्च अदालत पाटनमा रिट नं. ०८२-WO-2169 मार्फत विचाराधीन (Sub-judice) अवस्थामा रहेको छ। सम्मानित अदालतमा मुद्दा विचाराधीन रहेको यस्तो संवेदनशील अवस्थामा, अदालतको अन्तिम फैसला वा आदेश विना नै एकतर्फी रूपमा “डिलरसिप खारेज भइसकेको” भनी निष्कर्ष निकाल्नु र भ्रम फैलाउनु न्यायिक मूल्य मान्यता र कानुन विपरीतको कार्य हो।

२. एकतर्फी र बदनियतपूर्ण सञ्चार

पत्रकारिताको न्यूनतम सिद्धान्त (सन्तुलन र सत्यतथ्य जाँच) लाई समेत कुल्चिएर, हाम्रो कम्पनीको आधिकारिक धारणा वा कानुनी बचाउको पक्षलाई कुनै स्थान नदिई, बजारमा भ्रम छर्ने र जी मोटर्सको साख गिराउने उद्देश्यले मात्र उक्त समाचार सम्प्रेषण गरिएको देखिन्छ।

३. व्यावसायिक क्षति र भ्रम

स्काईवेल र स्काईवर्थ ब्रान्डका गाडीहरू नेपाली बजारमा भित्र्याएर उपभोक्ता माझ लोकप्रिय बनाउन जी मोटर्सले ठूलो लगानी र योगदान गरेको छ। यस्तो अवस्थामा अदालतमा विचाराधीन रहेको विषयलाई लिएर “जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो” भन्दै भ्रामक र प्रायोजित बजार हल्लालाई समाचारको रूप दिनुले सम्बन्धित मिडियाको पूर्वाग्रह र बदनियत स्पष्ट पार्दछ।

हाम्रो माग र चेतावनी: अतः अदालतमा विचाराधीन मुद्दाको मर्यादा उल्लंघन गर्दै, पूर्वाग्रही ढंगले झुटो र भ्रामक समाचार प्रकाशन गरी आम उपभोक्ता र बजारमा भ्रम सिर्जना गर्ने कार्य गरिएकाले यो पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त भ्रामक समाचार तत्काल आफ्नो पोर्टलबाट हटाउन (Remove गर्न) र सोही स्थानमा यो खण्डन पत्रलाई प्राथमिकताका साथ प्रकाशन गर्न जोडदार माग गर्दछौँ।

अन्यथा, पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को उल्लंघन र कम्पनीको व्यावसायिक प्रतिष्ठामा पुर्‍याएको क्षतिका विरुद्ध कानुनी उपचार र प्रेस काउन्सिल नेपालमा कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुने ब्यहोरा समेत अवगत गराउँदछौँ।

सद्भावपूर्वक,

नाम: विकास यादव
पद: कानुनी सलाहकार / प्रतिनिधि (Law Lens Nepal)
कम्पनी: जी मोटर्स प्रा. लि. (G. Motors Pvt. Ltd.)
सम्पर्क नं: ९८१०१३६८३४

खण्डन प्रकाशन गर्नु पर्ने पत्रकार आचारसंहिताको व्यवस्थालाई सम्मान गर्दै बिजनेशपानाले कम्पनीको तर्फबाट प्राप्त खण्डन जस्ताकोतस्तै प्रकाशन गरेको हो।  साथै सो खण्डन मार्फत कम्पनीले गरेको दाबीबारे बिजनेशपाना निम्न विषय प्रष्ट पार्न चाहन्छ  ।

खण्डनको बुँदा नम्बर १ को सम्बन्धमा: बिजनेशपानाले आफ्नो समाचारमा अदालतको अन्तिम फैसला वा आदेशले सम्झौता खारेज गरेको भनी कहिँकतै उल्लेख गरेको छैन । समाचारमा चिनियाँ कम्पनीको तर्फबाट सम्झौता खारेज गरिएको पत्र आएको भनी प्रष्ट रुपमा उल्लेख गरिएको छ र पत्र समेत समाचारमा संलग्न छ । सम्झौता खारेज भएपछि मात्र कम्पनी अदालत गएको हो, जुन न्याय निरुपणको फरक विषय हो । जी मोटर्स आफै सम्झौता कायम राखी पाउँ भन्दै अदालत गएकोले सम्झौता खारेज भएको त्यहिबाट नै प्रष्ट हुन्छ । साथै अदालतले पहिलो सुनुवाईमा कारण देखाउ आदेश मात्र जारी गरेको छ, जसबाट प्रथम दृष्टिमा अदालतले सम्झौता खारेजी कानून सम्मत नै भएको विश्लेषण गरेको छ । यदि सम्झौता खारेज विरुद्द पहिलो सुनुवाई मै अल्पकालीन अन्तरिम आदेश जारी भएको भए जी मोटर्स कानूनी रुपमा बलियो भएको देखिने थियो । जुन अवस्था अहिले देखिएन ।

खण्डनको बुँदा नम्बर २ को सम्बन्धमा: खण्डनमा एकतर्फी र बदनियतपूर्ण सञ्चार गरेको भनी गम्भीर आरोप लगाईएको छ, जुन सत्य छैन । बिजनेशपानाले समाचार तयार पार्दा यस विषयमा जानकारी लिनका लागि जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलाललाई सम्पर्क गर्दा उनको फोन उठेको थिएन। बिजनेश पानाकर्मीले गेलाललाई असार ९ गते मंगलबार दिउँसो फोन गरेका थिए । यसबारे म्यासेजमा जिज्ञासा राख्दा भने गेलालले ‘फेक न्यूज’ भनेर उत्तर दिएका थिए। तर विभागमा उत्पादक कम्पनीले पठाएको पत्र पठाएरै जिज्ञासा राख्दा भने उनले समाचार तयार पार्दासम्म कुनै जवाफ दिएका थिएनन् र आजको मितिसम्म पनि दिएका छैनन्। यसबाट समाचार एकतर्फी नभएको प्रष्ट हुन्छ  ।

खण्डनको बुँदा नम्बर ३ को सम्बन्धमा: बिजनेशपानाले चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता रहेको जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको समाचार प्रकाशन गरेको हो। सम्झौता खारेज भएको पत्र वाणिज्य विभागमा पनि आईसकेको छ। सम्झौता खारेज भएकै कारणले कम्पनी अदालत गएको छ र विपक्षीमा वाणिज्य विभागलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। यसले समाचार  भ्रामक र प्रायोजित नभई सत्य भएको प्रष्ट देखिन्छ । साथै बिजनेशपानाले सम्झौता खारेज गरिएकोबारेको इमेल नै प्रकाशन गरेको छ।

कम्पनीले बिजनेशपानालाई इमेल मार्फत ‘२४ घण्टाभित्र समाचार हटाउन’ भनेको विषयमा बिजनेशपानाको गम्भीर आपत्ति छ । यसले स्वतन्त्र पत्रकारिताको मूल मर्ममा गम्भीर प्रहार गरेको छ । यो पत्रकार आचारसंहिता २०७३ को बुँदा ५ (८) मा रहेको ‘अनलाइन सञ्चारमाध्यमबाट समाचार हटाउनु (पोष्ट डिलिट) हुँदैन’ भन्ने प्रावधानसँग मेल खादैन। समाचारको विषयमा कुनै अशन्तुष्टी रहेका प्रेस काउन्सिलमा उजुरी गर्नु पर्ने व्यवस्था रहेकोमा सिधै संचारमाध्यमलाई नै समाचार डिलिट गर्न भन्नु आपत्तिजनक छ । पर्याप्त सूचना, तथ्य र प्रमाणमा आधारमा लेखिएको समाचार डिलिट गर्ने प्रश्नै आउदैन ।

साथै कम्पनीले बिजनेशपानालाई पठाएको खण्डनमा मिति २०८३ असार ८ गते समाचार प्रकाशन गरिएको भनिएको छ । जबकी समाचार भोलिपल्ट अर्थात् असार ९ गते प्रकाशन भएको थियो। यसले कम्पनीले समाचारको तथ्य नै नहेरी अरु कसैलाई तयार पारेको खण्डन हुबहु कपि गरेर बिजनेशपानालाई पठाएको प्रष्ट देखिन्छ। जुन तथ्यगतभन्दा धेरै टाढा छ।

समाचार प्रकाशन गर्दा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को कुनै पनि बुँदा उल्लंघन नभएको हामी प्रष्ट पार्न चाहन्छौं । साथै कम्पनीको व्यावसायिक प्रतिष्ठामा क्षति पुर्याउनु हाम्रो उदेश्य नभएको र सत्य तथ्य समाचार प्रमाण सहित प्रकाशन गरिँदा त्यसबाट कम्पनीलाई क्षति पुगेको भए त्यसको जिम्मेवार कम्पनी आफै हुनु पर्ने हाम्रो प्रष्ट भनाई छ ।

 यस्तो थियो बिजनेशपानाले लेखेको समाचार : 

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता रहेको जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको छ । स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले सन् २०२६ जुन ५ देखि लागू हुने गरी जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको हो ।

उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइलले वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई समेत यसको जानकारी गराइसकेको छ । कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ विभागका प्रतिनिधि ह्वाङ युले जुन १५ मा नै यस सम्बन्धि जानकारी गराउँदै वाणिज्य विभागमा इमेल गरेको पाइएको छ । यस आधारमा अब जी मोटर्स स्काईवेलको आधिकारिक बिक्रेताबाट हटाइएको छ ।

जियान्सु स्काईवेल अटोमोबाइलले वाणिज्य विभागलाई पठाएको इमेल

यता वाणिज्य विभागले पनि नेपालका लागि स्काईवेल ईभीको आयातकर्ता कम्पनी जी मोटर्ससँग सम्बन्धित विषयमा उत्पादक कम्पनीबाट पत्र प्राप्त भएको जनाएको छ । विभाग स्रोतका अनुसार अहिले वाणिज्य विभागको एजेन्सी शाखाबाट कानून शाखामा यस सम्बन्धि जानकारी आइपुगेको छ ।

उत्पादक कम्पनीको पत्रका आधारमा अब विभागले जी मोटर्सलाई स्काईवेल ब्राण्डका ईभी आयातका लागि यसअघि दिइएको एजेन्सी दर्ता हटाउनेछ ।

यसअघि जी मोटर्सले प्रिमीयम ब्राण्ड स्काईवेललाई नेपाल भित्र्याउँदै आक्रामक प्रचार गरेको थियो । बीई११ र ईटी५ मोडललाई बजारमा अपेक्षाकृत बिक्री गर्न भने सकिरहेको थिएन । धनगढीका मेयर गोपी हमाललाई गाडी बिक्री गरेर चर्चा गराउन कोशिस गरेपनि जी मोटर्सले बिक्री बढाउन भने सकेन ।

तर, उत्पादक कम्पनीले सम्झौता खारेज गरिनुमा कुनै कारण भने उल्लेख गरेको छैन । यद्यपी, अब यो ईभी आयातका लागि लविङ गरिरहेका कम्पनीहरुले भने जी मोटर्सले बिक्री बढाउन नसकेकै कारण उत्पादकले सम्झौता खारेज गरेको दाबी गरेका छन् ।

यस विषयमा जानकारी लिनका लागि जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलाललाई सम्पर्क गर्दा उनको फोन उठेन । बिजनेश पानाकर्मीले गेलाललाई मंगलबार दिउँसो फोन गरेका थिए ।

यसबारे म्यासेजमा जिज्ञासा राख्दा भने गेलालले ‘फेक न्यूज’ भनेर उत्तर दिएका छन् । तर विभागमा उत्पादक कम्पनीले पठाएको पत्र पठाएरै जिज्ञासा राख्दा भने उनले यो समाचार तयार पार्दासम्म कुनै जवाफ दिएनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...
spot_img