टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले त्यसको लागि असार १९ गते शुक्रबार रोडशो (छलफल) कार्यक्रम गर्ने भएको छ ।
कम्पनीले बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुरुप आशय मूल्य , योग्य संस्थागत लगानीकर्ताले खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्गनको आधार सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो समेत प्राप्त गर्ने प्रयोजनका छलफल कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
हाल कम्पनीको जारी पुँजी ५३ करोड रहेको छ । कम्पनीले त्यसको २०.५० प्रतिशत अर्थात् १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ८६ हजार ५ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। त्यसको ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६ सय कित्ता योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ। बाँकी रहेको ६० प्रतिशत अर्थात् ६ लाख ५१ हजार ९ सय कित्ता शेयर आम सर्वसाधारणमा निष्काशन हुने छ।
कम्पनीले आईपीओ निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याईएको शेयरको मूल्य प्रति कित्ता ६६६.७८ रुपैयाँ कायम हुने अनुमान गरेको छ । त्यस्तै सर्वसाधारणलाई शेयर निष्काशन गर्दा संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको मूल्य भन्दा १० प्रतिशत छुट दिएर शेयर निष्काशन गर्नु पर्ने व्यवस्था रहेकोले लगानीकर्तालाई प्रति कित्ता ६०० रुपैयाँमा शेयर निष्काशन हुने कम्पनीको अनुमान छ।
यद्यपि यो कम्पनीको अनुमान मात्र हो। योग्य संस्थागत लगानीकर्ताहरुसँगको छलफलपछि उनीहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्छ, त्यसपछि आशय मूल्यको अध्ययन गरि आधार मूल्य तय हुन्छ । सो पछि शेयरको बिक्री मूल्य सीमा निर्धारण गर्नु पर्छ, सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य कायम गर्नुपर्नेछ । सीमा निर्धारण गरेर योग्य संस्थागत लगानीकर्ताहरुमा शेयर निष्काशन हुनेछ। त्यसपछि प्राप्त आवेदन बाट कट अफ मूल्य तय गर्नु पर्छ। अहिले भने कम्पनीले यस्तो कट अफ मूल्य ६६६.७८ रुपैयाँ हुने अनुमान गरेको हो।
कस्तो छ वित्तीय अवस्था ?
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १४ करोड १० लाख, आर्थिक वर्ष २०८०/८१ मा १६ करोड १८ लाख खुद नाफा कमाएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा २३ करोड ८२ लाख खुद नाफा कमाएको थियो। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा कम्पनीले २२ करोड ८२ लाख खुद नाफा कमाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २६ करोड १४ लाख, आर्थिक वर्ष २०८३/८४ मा २८ करोड ९९ लाख र आर्थिक वर्ष २०८४/८५ मा ३२ करोड २२ लाख खुद नाफा कमाउने प्रोजेक्सन गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रति शेयर आम्दानी १५.९४ रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रति शेयर आम्दानी १९.६१ रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति शेयर आम्दानी २०.९५ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रति शेयर आम्दानी १०.२३ रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रति शेयर आम्दानी १८.२८ रुपैयाँ, आर्थिक वर्ष २०८३/८४ मा १९.५८ रुपैयाँ र आर्थिक वर्ष २०८४/८५ मा प्रति शेयर आम्दानी २०.०४ रुपैयाँ हुने प्रोजेक्सन गरेको छ ।
आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ मा कम्पनीको प्रति शेयर नेटवर्थ (सम्पत्ति पुनर्मूल्यांकन बाहेक) क्रमश १६१.५३ रुपैयाँ, १५७.७६ रुपैयाँ, १७८.७१ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रति शेयर नेटवर्थ १६७.५१ रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रति शेयर नेटवर्थ १७५.३८ रुपैयाँ, आर्थिक वर्ष २०८३/८४ मा २२०.३९ रुपैयाँ र आर्थिक वर्ष २०८४/८५ मा प्रति शेयर नेटवर्थ २६५.४७ रुपैयाँ हुने प्रोजेक्सन गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १४.६३ प्रतिशत, आर्थिक्व वर्ष २०८३/८४ मा १५.६६ प्रतिशत र आर्थिक वर्ष १६.०३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रोजेक्सन गरेको छ।
को को छन् संस्थापक र संचालक ?
कम्पनीको सबैभन्दा ठूलो शेयरधनीको रुपमा अल्फा क्यापिटल रहेको छ। अल्फा क्यापिटलसँग कम्पनीको १४.५४ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै राजु कर्माचार्यसँग ९.०१ प्रतिशत, झंकनाथ भट्टसँग ८.५२ प्रतिशत, डा. जि नारायण बहादुर क्षेत्रीसँग ६.५२ प्रतिशत, र विवस पियासँग ३.५४ प्रतिशत रहेको छ। अन्य संथापकहरुसँग भने ३.५० प्रतिशत भन्दा कम शेयर स्वामित्व रहेको छ। कम्पनीमा कुल २३ संस्थापक शेयरधनी रहेका छन् ।
कम्पनीका अध्यक्ष डा. जि नारायण बहादुर क्षेत्री हुन् भने प्रबन्ध संचालकमा सुदर्शन लाल श्रेष्ठ रहेका छन्। अन्य संचालकमा आशिष भण्डारी, मनोज प्रधान, राजु कर्माचार्य, र झम्कनाथ भट्ट, रहेका छन् । सीए सजना मैनाली कम्पनीकी स्वतन्त्र संचालक हुन् ।
कस्तो छ कम्पनी ?
टाईम फर्मास्यूटिकल्स लिमिटेड नेपालको WHO – GMP प्रमाणित औषधी उत्पादक कम्पनी हो। कम्पनीको नारा “Touching Lives, Delivering Promises” रहेको छ।
कम्पनीले नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधी व्यवस्था विभागबाट २०५१/०५/ १९ मा औषधी उद्योग स्थापनाको लागि सिफारिस प्राप्त गरेको थियो। यो कम्पनी वि.स. २०५१/०६/०५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा. लि. को रुपमा दर्ता भएको थियो । कम्पनीको २०८१/ ०१ / १४ मा सम्पन्न विशेष साधारणसभाबाट कम्पनीलाई प्रा. लि. बाट पब्लिकमा परिवर्तन गर्ने निर्णय सर्वसम्मतीले पारित भए पश्चात् २०८१/०३/३१ मा कम्पनी रजिष्ट्रारको कार्यालयबाट पब्लिक लिमिटेड कम्पनीको दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो। हाल कम्पनीले नेपालको एक अग्रणी तथा प्रतिष्ठित औषधी उत्पादकको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।
वर्तमान समयमा कम्पनीले औषधी उत्पादनको दायरालाई फैलाउदै Cronic र Acute therapies मा प्रयोग हुने विभिन्न प्रकारका २०० भन्दा बढी औषधीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीको उद्योग नवलपरासी (बर्डघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नम्बर १० रहेको छ। कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको छ। कम्पनीको कुल बिक्रीको ८.१ प्रतिशत आम्दानी औषधि निर्यातबाट हुने गरेको छ।
कम्पनीको भावी योजनामा थप जेनेरिक औषधीहरुको उत्पादन तथा बजारीकरण गर्ने, आँखासँग सम्बन्धित औषधी उत्पादन गर्ने कार्यका लागि Opthalmic Section स्थापना गर्ने, पुर्वाधार तथा उपकरणहरुको स्तरोन्नती गर्ने, सञ्चालन दक्षता, मौज्दात व्यवस्थापन, वित्तीय नियन्त्रण तथा निर्णय प्रक्रियालाई मजबुत गर्ने, अन्तराष्ट्रिय बजार बिस्तार गर्ने लगायत रहेका छन्।
कम्पनीले आईपीओ निष्काशनबाट प्राप्त हुने रकमलाई निम्न अनुसार खर्च गर्ने योजना राखेको छ ।
१. नेत्र सम्बन्धी औषधिहरूको दायरा बढाउन निम्नानुसारको कार्यमा गर्न प्रयोग गर्ने:
Strip and alu-alu packing machines स्थापना गर्न ।
Roller compactor खरीद गर्ने ।
Automated packing lines स्थापना गर्ने
प्रयोगशालाको स्तरोन्नती गर्ने ।
२. अनुसन्धान तथा विकास क्षमता अभिवृद्धि गर्ने ।
३. सहायक कम्पनी टाईम लाईफ स्टाईल प्रा. लि. को व्यवसायिक क्षेत्रहरुमा उपस्थितिलाई सुदृढ बनाउन तथा बजारको विविधिकरण र वृद्धि गर्न सहायक कम्पनीमा लगानी गर्ने।
४. आवधिक ऋण र कार्यशील पूँजीका लागि लिईएको अल्पकालीन ऋण भुक्तानी गर्नको लागि प्रयोग गर्ने।












