नव गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज पहिलो बैठक बसेको हो।
बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । प्रतिवेदनले सुरक्षा निकायको हकमा गरेका सिफारिस बारे भने अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ। अघिल्लो सरकारले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ गर्न पूर्व न्यायधीश गौरी बहादुर कार्कीको अध्यतामा आयोग गठन गरेको थियो। सो आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक भैसकेको छ। बालेन सरकारले सो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। प्रतिवेदनले जेन्जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृह मन्त्री रमेश लेखक, र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई जेल सहितको कारवाही सिफारिस गरिएको छ ।
बैठकले शासकीय सुधारका लागि १०० कार्यसूची पारित गर्ने निर्णय पनि गरेको छ । जुन बुँदा शनिवारसम्म सार्वजनिक हुने बताईएको छ ।
बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री रहेका सस्मित पोखरेललाई दिएको छ ।












