उद्योगमन्त्री अनिलकुमार सिन्हाले आफ्नो कार्यकालको अन्त्यमा आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरूलाई ‘देशको सम्पत्ति’को संज्ञा दिँदै उनीहरूको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । राज्य सञ्चालन र विकास प्रक्रियामा कर्मचारीहरूको भूमिका उल्लेख्य र महत्वपूर्ण हुने भन्दै उनले आगामी दिनमा राजनीतिक नेतृत्वले उनीहरूलाई सही दिशा र उद्देश्यका साथ परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
बिदाइ कार्यक्रममा मन्त्री सिन्हाले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सामूहिक प्रयासको परिणाम भएको स्पष्ट पारे । ‘यस अवधिमा मन्त्रालयमा जे जति काम गर्न सकियो, त्यो मेरो एक्लो प्रयासले सम्भव थिएन, यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूको साथ र सहयोगकै कारण सम्भव भयो,’ उनले भने, ‘त्यसैले कर्मचारी नै सरकारको वास्तविक सम्पत्ति हुन् ।’
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्री सिन्हाको कार्यकालको विस्तृत समीक्षा प्रस्तुत गर्दै मंसीर २८ गतेदेखि १०५ दिनको अवधिमा भएका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरूबारे जानकारी गराए ।
उनले छोटो अवधिमा पनि मन्त्रालयले नीतिगत स्पष्टता र कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरे ।
मन्त्री सिन्हाले आफ्नो कार्यकालमा राज्यका विभिन्न अंगहरूसँग काम गर्ने अवसर पाएको उल्लेख गर्दै न्यायपालिका र कार्यपालिकासँगको अनुभवसँगै राष्ट्रिय सभामा विधेयकमाथि छलफलमा सहभागी भई व्यवस्थापिकाको अनुभवसमेत प्राप्त गरेको बताए । उनले यसलाई आफ्नो सार्वजनिक जीवनको महत्वपूर्ण सिकाइका रूपमा प्रस्तुत गरे ।
उनले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूको सम्मानमा आमनिर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गरिएको उल्लेख गर्दै अब जेन्जी आन्दोलनको मर्म र भावना अनुरूप सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । नयाँ सरकारको कार्यगतिलाई साथ दिँदै जनतामुखी सेवा प्रवाहमा ध्यान दिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।
कार्यक्रमको अन्त्यतिर मन्त्री सिन्हा भावुक बनेका थिए । उनले मन्त्रालयका सचिवदेखि सम्पूर्ण कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कार्यकालभर प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरे । ‘यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास मेरो लागि सधैं स्मरणीय रहनेछ,’ उनले भने ।
कार्यक्रममा उपस्थित कर्मचारीहरूले पनि मन्त्री सिन्हाको कार्यशैलीको प्रशंसा गर्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।













