नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का धेरैजसो पूर्व महानिर्देशकहरुविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । त्रिरत्न मानन्धर, रतिश चन्द्रलाल सुमन, संजिव गौतम र राजन पोखरेलविरुद्द अहिले अख्तियारले मुद्दा हालेको छ ।
महानिर्देशकमा बहाल रहेकै बेला प्रदीप अधिकारीविरुद्द मुद्दा दर्ता भयो, उनी कारगार चलान नै भइसके । यति मात्रै होइन, महानिर्देशकका दाबेदारहरु प्रतापबाबु तिवारी र हंशराज पण्डेय पनि अख्तियारको फन्दामा परेर अहिले मुददा झेलिरहेका छन् ।
सबैजसो पूर्व महानिर्देशक र भविष्यमा महानिर्देशक बन्ने कसरतमा रहेका उच्च अधिकारीहरुले मुद्दा खेपिरहँदा पूर्व महानिर्देशन राजकुमार क्षेत्रीको भने अख्तियारले कतै, कुनै संलग्नता भेटेन । अझ रोचक कुरा त के भने, अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भ्रष्टाचार भएको भन्दै दुइ वटा मुद्दा दायर गर्दा पनि क्षेत्री भने प्रतिवादी हुनु परेन ।
हुन त उनी छोटो समय मात्रै महानिर्देशक भएका हुन् । यद्यपी, लामो समय क्यानको विभिन्न जिम्मेवारी पूरा गरेको र महानिर्देशकसम्म भएको व्यक्ति हुनाले उक्त निकायसँग सम्बन्धि अनुसन्धान पटकपटक हुँदा र पटकपटक मुद्दा दायर गरिँदा पनि अख्तियारले क्षेत्रीलाई दोषी देखेन । यसबाट उनको स्वच्छ छवि पुनः प्रमाणित भएको छ ।
सक्रिय जागिरे जीवनमा रहँदा पनि क्षेत्री सबैका प्रिय भएरै बसे । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक हुँदा उनलाई धेरैले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङसँग तुलना पनि गरे । तर, उनी फुर्किएनन्, आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहे । तत्कालिन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीले सार्वजनिक कार्यक्रममै पटकपटक क्षेत्रीको प्रशंसामा कयौँ शब्दहरु खर्चिएका थिए । कहिले ‘राजकुमार क्षेत्री भएपछि एयरपोर्टको चिन्ता अरुले लिनु पर्दैन’ भन्थे भने कहिले ‘कर्मचारी साथीहरुले राजकुमार क्षेत्रीले जस्तो काम गर्नुपर्छ’ भनेर हौसला दिन्थे ।
क्षेत्रीका अनुसार नलिन्चोक हेलिपोर्ट निर्माणका सम्बन्धमा उनी महानिर्देशक हुँदा फाइल नआएको होइन । तर, उनले ‘सम्भाव्यता अध्ययन गरेर यदि आवश्यक हो र सम्भव हुन्छ भने मात्रै अघि बढाउने’ भनेर लेखिदिएका थिए । उनी बाहिरिएपछि क्यानले यो प्रोजेक्ट अघि बढायो, अहिले यहीँ परियोजनामा भ्रष्टाचार गरेको भन्दै निवर्तमान महानिर्देशक प्रदीप अधिकारी थुनामा छन् ।
‘मैले कर्मचारीका रुपमा जहिल्यै पनि व्यवसायिकता र पारदर्शीतालाई आफ्नो सबैभन्दा ठूलो आदर्शका रुपमा लिएँ’ क्षेत्री भन्छन्, ‘प्रशासनिक भूमीकामा रहँदा धेरै प्राविधिक विषयको ज्ञान हुँदैन । तर, एकदमै राम्रो टिम बनाएर काम गर्ने मेरो बानी थियो । पारदर्शी व्यवहार र अनुशासित कर्मले नै हामीलाई समाजले जीवनपर्यन्त सम्झिने हो ।’
उनले निर्णय प्रक्रियामा पारदर्शीता र नहुने कुरामा हुँदैन भनेरै अडान लिने गरेको पनि स्मरण गरे । ‘एक त अनुभवले पनि मान्छेलाई निर्खादै लैजान्छ, अर्को चाहिँ आफूभित्र पनि मैले गलत गर्नु हुँदैन, राज्यले ममाथि गरेको विश्वासमा घात गर्नु हुँदैन भन्ने भावना भयो भने गलत मनशाय आउँदै आउँदैन’ उनी भन्छन्, ‘कर्मचारी प्रशासनमा कार्यकौशलता सँगसँगै व्यवसायिकता र पारदर्शीता सधैँ आवश्यक हुन्छ । अर्को मुख्य कुरा, स्वअनुशासन पनि हो ।’
नागरिक उड्डययन क्षेत्रमा दशकौँ लामो सेवा गरेका उनी अहिले परिवारसँगै विगतका सुःख, दुःख स्मरण गर्दै सेवानिवृत्त जीवनमा छन् । तर, क्यानभित्र र नागरिक उड्डययन क्षेत्रमा सबैका प्रीय ‘क्षेत्री सर’का रुपमा उनले आदर र सम्मान पाइरहेका छन् । अहिले पनि बेला बेलामा नागरिक उड्डययन र पर्यटन क्षेत्रबारे लेखहरु लेखिरहने उनी भन्छन्, ‘पर्यटन र नागरिक उड्डययन भनेको देशका इज्जत हुन् । यी क्षेत्रमा हामीले कुकर्म गर्न थाल्यौँ भने मुलुककै प्रतिष्ठामा आँच आउँछ ।’












