सरकारले चैत्र ६ गते शुक्रबार र चैत्र ७ गते शनिवार विभिन्न स्थानका नागरिकलाई सचेत रहन आग्रह गरेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिवार देशका विभिन्न स्थानमा भारी वर्षाको साथै तिब्र गतिको हावाहुरी चल्ने भएकोले सतर्क रहन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा शनिवार पूर्वी क्षेत्रका बिराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको छ।
प्रि मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ। पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसहरुको मृत्यु तथा घाइते भएका छन्।
प्राधिकरणले उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन, विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले आग्रह गरेको छ।
साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र प्राधिकरणवाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
हेर्नुस् सूचना













