नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि ४ जना उपाध्यक्षका उम्मेदवारहरुलाई ‘मेरो टिम’ भन्दै प्रचार गरेका रामचन्द्र सांघाईं अन्ततः ब्याक भएका छन् । उनले आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै अन्य ४ जना उपाध्यक्षका उम्मेदवारहरु प्रबलजंग पाण्डे, शिवप्रसाद घिमिरे, दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मालाई आफ्नो टिममा देखाउँदै प्रचार गरेका थिए । अब भने उनले त्यसरी प्रचारबाजी नगर्ने प्रतिवद्धता जनाएको स्रोतको भनाइ छ ।
उपाध्यक्षका उम्मेदवारहरुले नै सांघाईले गरेको उक्त प्रचारको खण्डन गर्दै आफूहरु सांघाईको टिममा नरहेको र उनलाई आफूहरुको कुनै समर्थन नरहेको प्रष्ट पारेका थिए । त्यसपछि सोमबार सांघाईसँग केही व्यक्तिहरुले छलफल समेत गरेका थिए ।
‘आइतबार बेलुका नै उहाँ (रामचन्द्र सांघाई)सँग बसेर विषय प्रष्ट पार्न अनुरोध गर्ने भनिएपनि कृष्ण शर्मा (जिल्ला नगर उपाध्यक्षका उम्मेदवार) आइतबार बेलुका मात्रै काठमाडौँ आइपुग्नु भएकाले त्यो दिन बसिएन । सोमबार पनि हामी नभई अरु नै बसेर कुरा टुङ्ग्याउनुभयो’ एक जना उपाध्यक्षका आकांशीले भने ।
ति उम्मेदवारका अनुसार महासंघका भावी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष) अन्जन श्रेष्ठले नै सांघाईलाई त्यसरी आफूखुशी प्रचारबाजी नगर्न सचेत गराएका थिए । ‘अन्जन श्रेष्ठको सद्भाव प्राप्त उम्मेदवारहरुलाई रामचन्द्र सांघाईले आफ्नो टिम भनेर प्रचार गरेपछि अन्जनको वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र सांघाई हो भन्ने प¥यो’ अर्का एक उम्मेदवारले भने, ‘त्यसकारण हामीलाई अन्जनले नै तपाईले कुरा गर्नुपर्दैन म कुरा गर्छु भन्नुभयो । अन्जन श्रेष्ठ र अरु केही साथीहरुले रामचन्द्र सांघाईसँग कुरा गरिसक्नुभयो ।’
अर्का एक उम्मेदवारले भने सांघाईले अब आफूले त्यसरी प्रचारबाजी नगर्ने प्रतिवद्धता जनाएका छन् । केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन पछि मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्ने आफूहरुको समझदारी भएकाले आफूहरुको तस्बिर र नाम प्रयोग गरेर प्रचार नगर्न भन्दै सांघाईलाई सचेत गराइएको र उनले आत्मालोचना गर्दै अब त्यसो नगर्ने प्रतिवद्धता जनाएको एक जना केन्द्रीय सदस्यले बताए ।
‘उहाँले आत्मालोचना गर्दै अब त्यसरी प्रचारबाजी गर्दिनँ भन्नुभयो । उहाँले आफ्नो टिममा देखाएका व्यक्तिहरुले सार्वजनिक रुपमै खण्डन गरेपछि उहाँ लज्जित पनि हुनुभयो’ अर्को स्रोतले थप पुष्टि गर्दै भन्यो, ‘अब केन्द्रीय कार्यकारिणी समितिको चुनाव सकिएर नतिजा आएपछि अन्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षका दाबेदारहरुसँग बसेर उम्मेदवार टुङ्ग्याउनु हुनेछ । अब उहाँसँग अर्को टिम बनाउने वा त्यतिन्जेल कुरेर विश्वास आर्जन गर्ने भन्ने दुइ वटा विकल्प मात्रै बाँकी छन् ।’
९ गते घोषणा
अन्जन श्रेष्ठ समर्थित टिमको घोषणा चैत ९ गते हुने भएको छ । ९ गते अपरान्ह ४ जना उपाध्यक्षका उम्मेदवारहरुको उम्मेदवारी घोषणा हुने भएको हो । एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे र जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माको उम्मेदवारी घोषणा गर्न लागिएको हो ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको भने अहिले उम्मेदवारी घोषणा नहुने बताइएको छ । विधानमा १२ जना महिला केन्द्रीय सदस्य भएमा एक जना महिला उपाध्यक्ष रहने प्रावधान पनि छ । त्यस अनुसार निर्वाचनबाट १२ जना महिलाहरु केन्द्रीय सदस्य चयन भएमा महिला उपाध्यक्षको उम्मेदवार समेत उठाउनुपर्ने हुन्छ ।
यस अघि : महासंघ निर्वाचनः सांघाईले अन्जन समर्थित टिम ‘हाइज्याक’ गरेको चर्चा, चुलियो असन्तुष्टि












