सर्वोच्च अदालतको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा फर्किएका छन् । आज बुधबार उनले विद्युत प्राधिकरणको दरबारमार्ग स्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।
सर्वोच्च अदालतले सोमबार उनलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहालीको आदेश दिएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको थियो।
सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले उनलाई गैर कानूनी तबरले हटाईएको भन्दै पुनर्बहालीको आदेश दिएको हो।
अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल प्राधिकरण कार्यकारी निर्देशक या महाप्रबन्धकको सेवाको गर्त तथा सुविधासम्बन्धी विनियावली २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रकृया र आधारमा हटाउन सकिनेमा सो बमोजिमको कुनै पनि प्रकृया अवलम्बन नगरी उक्त पदबाट हटाएको देखिँदा निजलाई सो पदबाट हटाउने विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन आएको भनेको छ।
अदालतले भनेको छ ‘त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ न्यायसंगत र उचित कारणमा आधारित Just, Fair and Reasonable निर्णय भनी मान्न मिलेन । मिसिलको मुहार (On the Face of Record बाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारवाहीहरू कानून र न्यायको रोहमा कायम रहन सक्ने देखिएन ।’
आदेशमा भनिएको छ ‘ यी रिट निवेदक हितेन्द्र देव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्ति गर्ने तथा सोबाट रिक्त हुन आउने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी मध्येका मनोज सिलवाललाई नियुक्ति गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०६/०५ की निर्णय पूर्वपठित कानूनी व्यवस्था निजसँग गरिएको कार्यसम्पादन सम्झौता तथा यस अदालतबाट विभिन्न मुद्दामा पटक पटक व्याख्या भई प्रतिपादित न्यायिक सिद्धान्तसमेतको प्रतिकूल देखिँदा मिति २०८२/०६/०५ को निर्णय वा सो निर्णयका आधारमा गरिएको कामकारवाही र पत्राचारसमेत उत्प्रेषणको आदेशले बदर भई यी रिट निवेदकलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पूर्ववत् काम कारबाही गर्न दिनु, दिलाउनु अनी विपक्षीहरूको नाउँमा परमादेशसमेत जारी हुने ठहर्छ ।’
अदालतको आदेशपछि आजबाट हितेन्द्रले प्राधिकरणको कार्यभार सम्हालेका हुन्।









