अब वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले अनिवार्य रुपमा विभिन्न ३४ प्रकारका स्वास्थ्य परीक्षण गराउनु पर्ने भएको छ। नेपाल मेडिकल व्यवसायी संघले श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउनको लागि ३४ प्रकारका स्वास्थ्य परिक्षण गर्नु पर्ने व्यवस्था गरिएको जनाएको छ।
यसले कामदारहरूको स्वास्थ्य अवस्थाको विवरण अझ बढी विश्वसनीय र पारदर्शी हुने संघको विश्वास छ । स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाइएपछि कामदारहरु काम गर्न जाने मुलुकमा आइपर्न सक्ने स्वास्थ्य समस्या वा जोखिमबाट प्रारम्भिक चरणमै सुरक्षित हुने संघले जनाएको छ। थप गरिएको परीक्षणमा रक्त, क्षयरोग, मृगौला, हेपाटाइटिस, सुगर, मलेरिया, टाइफाइडलगायत सामेल छन्। त्यस्तै रक्त परीक्षण (सीबीसी, ईएसआर, प्लेटलेट), क्षयरोग परीक्षण (छातीको एक्सरे, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी), मृगौलाको कार्य परीक्षण (सिरम युरिया, क्रिएटिनिन) पनि परिक्षण गर्नु पर्ने छ ।
नयाँ परीक्षण प्याकेजको शुल्क ९,५०० रुपैयाँ तोकिएको छ र १७१ स्वास्थ्य संस्था सूचीकरणमा परेका छन्। यी सबै परीक्षणहरु सरकारी अस्पतालमा गराउने हो भने प्रति कामदारलाई १४ देखि १५ हजारसम्म शुल्क लाग्ने संघले उल्लेख गरेको छ। तर, श्रमिकलाई भार नपरोस् भन्ने उद्देश्यले ९ हजार ५ सय रुपैयाँको प्याकेज तयार पारिएको संघको भनाई छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा विभिन्न विशेषज्ञ समितिहरुको सिफारिस तथा अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा यो नयाँ मापदण्ड लागू गरिएको संघले जनाएको छ।









