भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडकको स्थलगत अवलोकन गरेका छन् । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म विस्तारको क्रममा रहेको उक्त सडकको मन्त्री घिसिङले अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका हुन् ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेजमा विभाजन गरी काम भइरहेको र हाल आयोजनाको निर्माण प्रगति ५० प्रतिशत पुगेको जानकारी गराइएको थियो ।
सूर्यविनायकदेखि साँगासम्म ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको र साँगादेखि धुलिखेलसम्म ७.५ किलोमिटर खण्डको प्रगति ५५ प्रतिशत पुगेको सडक विभागले जनाएको छ ।
मन्त्री घिसिङले सडक विभागका महानिर्देशक विजय जैसी र आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी अहिले काम गर्ने उपर्युक्त समय भएकाले तीब्रता दिन र तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री घिसिङ आउँदो असारभित्र सडक विस्तार सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिँदै बजेट अभाव नहुने पनि जनाए ।
उक्त सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, आयोजनाले छिटो काम सक्न ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।









