बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरोधी अपराधको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्ष (२०२४) को विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको दमनको क्रममा भएको हत्याकाण्डका लागि उनी दोषी ठहरिएकी हुन्। ढाकामा तीन न्यायाधीशको इजलासले यो ऐतिहासिक फैसला सुनाएको हो। यो फैसला हसिनाको १५ वर्षे शासनको अन्त्यपछि न्यायिक हिसाबकिताबको सबैभन्दा ठूलो कदम हो।
७८ वर्षीय शेख हसिनामाथि २०२४ जुलाई–अगस्टमा भएको आन्दोलनमा निहत्था प्रदर्शनकारीमाथि क्रूर दमन गरेको आरोप थियो। सुरुमा सरकारी जागिर कोटाको विरोधमा सुरु भएको आन्दोलन पछि उनको निरंकुश शासनविरुद्ध ठूलो विद्रोहमा परिणत भएको थियो।
अभियोजन पक्षको दाबी थियो कि हसिनाको प्रत्यक्ष आदेशमा प्रहरी, र्यापिड एक्सन बटालियन (र्याब) र सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । हेलिकप्टरबाट समेत गोली चलाइएको थियो। करिब १,४०० मानिस मारिए, हजारौं घाइते भए, सयौं बेपत्ता भए।
न्यायाधीशहरूले भनेका छन्– “पूर्वप्रधानमन्त्रीले यी अत्याचारको योजना बनाएकी, निर्देशन दिएकी र आदेश दिएकी थिइन्। यो मानवताविरोधी अपराध हो।” हसिना र उनका केही वरिष्ठ सहयोगीहरूलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। जसमा पूर्व गृहमन्त्री असाज्दुजमान खानलाई पनि मृत्युदण्डको सहजै सुनाईएको छ।
अब के हुन्छ?
बंगलादेशले २०२४ मा मृत्युदण्डको कार्यान्वयन रोकेको छ, तर मानवताविरोधी अपराध जस्ता विशेष मामिलामा अझै कानुनी रूपमा सम्भव छ। हसिना निर्वासित रहेकाले यो सजाय तत्काल कार्यान्वयन हुन सक्दैन। बंगलादेशले भारतसँग उनको सुपुर्दगी (extradition) माग्न सक्छ, तर भारतले अस्वीकार गर्ने सम्भावना धेरै छ। भारत र बंगलादेशबीच सुपुर्दगी सन्धि छैन र भारतले हसिनालाई “पाहुना” को रूपमा संरक्षण दिइरहेको छ। अपील प्रक्रिया वर्षौंसम्म लम्बिन सक्छ।
शेख हसिना अहिले कहाँ छिन्?
शेख हसिना २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर ढाकाबाट भागेर भारतको नयाँ दिल्ली पुगेकी थिइन्। अहिले पनि उनी भारतमै पूर्ण सुरक्षा घेरामा बसिरहेकी छिन्। उनले यो मुद्दालाई “कंगारु अदालत” र “राजनीतिक प्रतिशोध” भनेकी छिन्।









