जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । घिसिङको संलग्नतामा भारतसँग नेपाललाई घाटा हुने गरी विद्युत खरिद सम्झौता भएको भन्दै जेनजी मुभमेन्टले मन्त्री घिसिङलाई पदबाट हटाउन माग गरेको हो ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले विज्ञप्ति जारी गरेरै ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिद सम्झौता गरेर देशलाई आर्थिक भार थप्ने काम भएको जनाएका छन् ।
उक्त सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा जनाइएको छ ।
‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।









