कार्तिक २२ गते शनिवार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६ औं कार्यसमितिको निर्वाचन हुँदै छ । केन्द्रीय कार्यसमितितर्फ कोषाध्यक्ष र कार्यकारी सदस्य महिला बाहेकका अन्य पदमा चुनाव हुदै छ। यो चुनाव बैंकर्सहरुलाई पनि लागेको छ ।
अध्यक्षको लागि बद्रि कुमार गुरागाई र अनुप नेपाल चुनावी मैदानमा छन् ।
मोरंगका बद्रि कुमार गुरागाई हाल राष्ट्रिय सहकारी बैंकको सीइओ छन् भने सामाजिक सुरक्षा कोषको सल्लाहकार छन्। उनी विगतमा नेफ्स्कुनको सीइओ, आईक्यानको डेपुटी डाइरेक्टर, क्वालिटी एस्योरेन्स बोर्डको सदस्य, एक्यानको कार्य समिति सदस्य तथा लेखामान बोर्डको सदस्य रहिसकेका छन्। उनी महालेखापरिक्षक तोयम राया निकट भएको बताईएको छ ।

उनी अनुभवी उम्मेदवार हुन् । उनलाई अधिकांश पूर्व अध्यक्ष त्तहा आईक्यानका पार्षदहरुको सहयोग रहेको बताईएको छ। उनले २०१८ मा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएपनि पराजित भएका थिए। एमाले निकट मानिने उनी राष्ट्रिय राजनीतिमा समेत पहुँच भएका व्यक्तिका रुपमा हेरिन्छन्।
अनुप नेपाल भने स्याङ्गजाका हुन् , हालको एक्यानको कार्यसमितिका उपाध्यक्ष छन्। उनी काङ्ग्रेस निकट मानिन्छन्। उनलाई नयाँ पुस्ताका सीएहरुको साथ रहेको छ। उपाध्यक्ष हुँदा उनले एक्यानको विधान स्वीकृत गराएको, विगत १८ महिनामा करिब ६० वटा ठूला कार्यक्रम सञ्चालन गरेको, सदस्यको डाटाबेस डिजिटलाइजेशन र नगदरहित नवीकरण प्रणाली लागू गरेको, त्रैमासिक जर्नल प्रकाशन निरन्तरता दिएको तथा सदस्यहरूलाई सजिलो कर्जा सुविधा र दुर्घटना मृत्यु बीमा सुनिश्चित जस्ता कार्य गराएका थिए ।
एक जना उपाध्यक्ष पदको लागि अनिल लामिछाने, राजु ढकाल र लोकेन्द्र ऐर प्रतिस्पर्धामा छन् ।
अनिल लामिछाने पोखराका सीए हुन्। उनी पूर्व कार्यसमिति सदस्य हुन्, उनलाई पूर्व अध्यक्ष सुदर्शनराज पाण्डेको सहयोग रहेको बताईएको छ । उनी लेखापरीक्षक तथा सार्वजनिक वित्तको परामर्शदाताको रुपमा छन् । उनी एक्यान कास्कीका प्रमुख हुन् । आईक्यानका एलमुनाइबाट उनलाई सहयोग रहेको छ। उनलाई विभिन्न विकास बैंकका सीइओहरु तथा मर्चेन्ट बैंकका उच्च नेतृत्वको साथ रहेको बताईएको छ ।
राजु ढकालले मुम्बईबाट सीए पास गरेका हुन् । उनलाई पूर्व अध्यक्षद्वय युद्द राज ओली र प्रकाश लम्सालको सहयोग रहेको बताईएको छ । ओली उनका पूर्व व्यवसायिक साझेदार हुन्। लम्साल उनको प्रस्तावक नै बसेका छन् । ढकाल नेपाली काङ्ग्रेस निकट हुन् । उनी धेरै एक्यान निर्वाचनमा प्रत्यक्ष संलग्न भईसकेका छन् ।

लोकेन्द्र ऐर सुदूरपश्चिमका हुन् । उनी धनगढी आईक्यान च्याप्टरमा स्थापना चरणबाट पहल गर्दै पहिलो कार्डिनेटरको रुपमा काम गरेका थिए । सुदूरपश्चिमको प्रदेश च्याप्टरको पहिलो नेतृत्वकर्ता पनि हुन् । उनले WeCAN मार्फत ७० भन्दा बढी निःशुल्क कार्यक्रमहरू सञ्चालन गरेका छन् ।
उपाध्यक्षका उम्मेदवारहरु मध्ये अनिल लामिछाने र लोकेन्द्र ऐर एक्यान तथा आईक्यान दुवै तिर सदस्य छन् । राजु ढकाल भने एक्यानमा मात्र छन् ।
एक जना महासचिवको लागि सुनिल बुढाथोकी र प्रदीप अर्यालले उम्मेदवारी दिएका छन् । सुनिल बुढाथोकी नेपाली काङ्ग्रेसको युवा राजनीतिमा भिजेका व्यक्ति हुन् । उनलाई काङ्ग्रेस निकट सीएहरुको साथ रहेको छ । प्रदीप अर्याल स्याङ्गजाका हुन् । उनलाई एनसेलका पूर्व संचालक सुजन श्रेष्ठ तथा गरिमा विकास बैंकका डेपुटी सीइओ अनिल रेग्मी लगायतको सहयोग रहेको बताईएको छ ।
कोषाध्यक्षमा सविन कार्की सर्वसम्मत भईसकेका छन् ।
४ जना खुला कार्यकारी सदस्य पदको लागि इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल र मिथलेश प्रसाद चौधरी प्रतिस्पर्धामा छन् । यी मध्ये इशा अधिकारीलाई बैंकर्स र सुर्य नेपालसँग आवद्द सीएहरुको सहयोग रहेको बताईएको छ। अन्जली सावद सुदूरपश्चिमकी हुन्, उनी टिकटक इन्फ्लुएन्सर पनि हुन् । उनलाई पूर्व अध्यक्ष भाष्कर लालाको सहयोग रहेको बताईएको छ । रिजिता श्रेष्ठले प्राइम कमर्शियल बैंक, कामना सेवा विकास बैंकमा काम गरिसकेकी छिन् । श्रेष्ठलाई उनको समुदायको समर्थन रहेको छ ।
सुमन न्यौपाने सीबीएम कलेजका प्रिन्सिपल हुन्, उनी लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । गुरु प्रसाद पोखरेल दाङका हुन्, उनलाई स्वच्छ छविको सीएको रुपमा चिनिन्छ, उनले पेशा मार्फत दाङ र काठमाडौँलाई जोडेर काम गरेका छन् । मिथलेश प्रसाद चौधरी मधेश प्रदेशका हुन् । उनलाई मधेश प्रदेशको साथै राष्ट्र बैंकमा रहेका सीएहरुको सहयोग रहेको बताइन्छ।
विगतमा कार्यसमिति सदस्यमा महिला उम्मेदवारहरुले प्राय जित्ने गरेकोले यस पटक पनि पुरुष भन्दा महिला उम्मेदवारहरु धेरै निर्वाचिन हुने आँकलन गरिएको छ।
कार्यकारी महिला सदस्यमा सजना मैनाली निर्विरोध भएकी छिन् । मतदान कार्तिक २२ गते हुने छ।
सबै तस्विर : सामाजिक संजालबाट









