नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ । सुनुवाइका लागि न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ ।
यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।
सरकारले आफूलाई गैरकानुनी रुपमा हटाएको भन्दै शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।









