कार्तिक २२ गते शनिवार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६ औं कार्यसमितिको निर्वाचन हुँदै छ । केन्द्रीय कार्यसमितितर्फ कोषाध्यक्ष र कार्यकारी सदस्य महिला बाहेकका अन्य पदमा चुनाव हुने भएको छ। अध्यक्षको लागि बद्रि कुमार गुरागाई र अनुप नेपाल चुनावी मैदानमा छन् ।
बद्रि कुमार गुरागाई हाल राष्ट्रिय सहकारी बैंकको सीइओ छन् भने सामाजिक सुरक्षा कोषको सल्लाहकार छन्। उनी विगतमा नेफ्स्कुनको सीइओ, आईक्यानको डेपुटी डाइरेक्टर, क्वालिटी एस्योरेन्स बोर्डको सदस्य, एक्यानको कार्य समिति सदस्य तथा लेखामान बोर्डको सदस्य रहिसकेका छन्।
अनुप नेपाल भने हालको एक्यानको कार्यसमितिका उपाध्यक्ष हुन् । उपाध्यक्ष हुँदा उनले एक्यानको विधान स्वीकृत गराएको, विगत १८ महिनामा करिब ६० वटा ठूला कार्यक्रम सञ्चालन गरेको, सदस्यको डाटाबेस डिजिटलाइजेशन र नगदरहित नवीकरण प्रणाली लागू गरेको, त्रैमासिक जर्नल प्रकाशन निरन्तरता दिएको तथा सदस्यहरूलाई सजिलो कर्जा सुविधा र दुर्घटना मृत्यु बीमा सुनिश्चित जस्ता कार्य गराएका थिए ।
एक जना उपाध्यक्ष पदको लागि अनिल लामिछाने, राजु ढकाल र लोकेन्द्र ऐर प्रतिस्पर्धामा छन् । एक जना महासचिवको लागि सुनिल बुढाथोकी र प्रदीप अर्यालले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा सविन कार्की सर्वसम्मत भईसकेका छन् ।
४ जना खुला कार्यकारी सदस्य पदको लागि इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल र मिथलेश प्रसाद चौधरी प्रतिस्पर्धामा छन् । कार्यकारी महिला सदस्यमा सजना मैनाली निर्विरोध भएकी छिन् ।
मतदान कार्तिक २२ गते हुने छ।









