नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले आफुलाई गैर कानूनी रुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
जेन्जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि घिसिङको सिफारिसमा मन्त्रिपरिषदको असोज ५ गते बसेको बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले उनलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
शाक्यले यी दुवै निर्णय कार्यान्वयन नगर्न र आफुलाई नै पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेशी कार्तिक १८ गतेलाई तोकिएको छ।
यस अघि पनि सरकारले शाक्यलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्यले त्यस विरुद्द पनि सर्वोच्चमा मुद्दा दायर गरेपनि अझै फैसला भएको छैन ।









