स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन् । जलविद्युत कम्पनीहरुलाई आईपीओ निष्काशन अनुमति नदिएर झुलाउने काम गरिरहेको र बोर्डकै कर्मचारीको आन्दोलन समाधान गर्न नसकेको भन्दै उनले अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका हुन् ।
‘३७ वटा जलविद्युत कम्पनीहरु आईपीओ निष्काशनको अनुमति पर्खिरहेका छन्, तर सेबोनले आईपीओ रोकेको छ’ उनले भने, ‘यो भनेको पूँजी निर्माण प्रक्रियामै गरिएको अवरोध हो ।’
वरिष्ठ उपाध्यक्ष डाँगीले एकातिर आईपीओ अनुमति नदिने र अर्कातिर बोर्डकै कर्मचारीले गरिरहेको आन्दोलनलाई समाधान गर्न नसक्ने नेतृत्व असक्षम सावित भइसकेको दाबी पनि गरे । उनले आफ्नै कर्मचारीले विश्वास नगर्ने नेतृत्वबाट बोर्ड थप अघि बढ्न नसक्ने देखिएकाले अध्यक्ष श्रेष्ठले राजीनामा दिएर बाटो खुलाउनुपर्ने धारणा राखेका हुन् ।
‘आफ्नै कर्मचारीहरुले आन्दोलन गरेको डेढ महिना जति भइसक्यो, कर्मचारीलाई समेत विश्वासमा लिन नसक्ने नेतृत्व असक्षम देखियो’ डाँगीले थपे, ‘अब उहाँले काम गर्न सकिनँ, मलाई कर्मचारीले पनि विश्वास गरेनन्, चौतर्फी रुपमा देखिएका समस्या र आइरहेका प्रश्नको कुनै समाधान निकाल्न सकिनँ भनेर हात उठाए हुन्छ ।’









