सरकारले नागढुंगा—सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न बोलपत्र आह्वान गरेको हो ।
इच्छुक कम्पनीले पौष २ गते (२०२५, डिसेम्बर १७) सम्ममा आवेदन बुझाउनु पर्नेछ ।
आयोजनाले सडक विभागको हालकै अवस्था, अनुभव र जनशक्तिबाट उक्त सुरुङमार्ग सञ्चालन गर्न नसकिने जनाइसकेको छ । त्यसैकारण विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।
आह्वान भएको ठेक्का अनुसार छनोट भएको कम्पनीले ५ वर्ष सुरुङमार्ग सञ्चालन तथा मर्मत गर्नेछ ।
सुरुङ २४सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले त्यस बखत दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक पर्ने भन्दै १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । जस अन्तर्गत सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना र सडक उपभोग दस्तुर उठाउन ५४ जना कर्मचारी खटिने छन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना मर्मतका लागि ८ जना तथा अन्य संरचना मर्मतका लागि ८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
मुख्य सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ ।
नागढुंगा सुरुङमार्गमार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।
भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।











