वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बिपी राजमार्ग ३ दिनदेखि अवरुद्द छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्लाको रोशी गाउँपालिका ८ चारसयबेशी र रोशी गाउँपालिका१२ माम्तीमा पहिरो खसेको छ ।
प्रहरीका अनुसार चारसयबेशीमा सडक माथिबाट तीन दिनदेखि सुख्खा पहिरो झरिरहेको छ । जसका कारण राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
चारसयबेशीमा अहिले डाइभर्सन बनाउने काम भइरहेको छ ।
बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी, डालाबेशी, बिरुवाडाँडा र घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेको थियो ।
गत वर्षको असोज १०, ११ र १२ गतेको वर्षाले बिपी राजमार्ग अन्तर्गत करिब १३ किलोमिटर सडक नै बगाएको थियो । त्यहाँ डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरिएको थियो ।
तर, यस वर्षको असोज १८ र १९ गतेको अविरल वर्षाका कारण अस्थायी डाईभर्सनमा पनि क्षति पुगेको छ । अहिले फेरि वर्षा हुँदा यातायात सूचारु गर्न समस्या परिरहेको छ ।









