जल तथा मौविज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” ले नेपालमा पार्ने प्रभावबारे विशेष बुलेटिन जारी गरेको छ । विभागका अनुसार यो चक्रवात आज मंगलबार राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ।
चक्रवात तत् पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै मिति २०८२/०७/१३ गते बिहीबार दिउँसो देखि मिति २०८२/०७/१५ गते शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ। विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ।
विभागको हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ। विशेषगरि बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।
सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरुमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आवश्यक सतर्कता अपनाउन भनेको छ । प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिन र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान, प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइ राख्न तथा जोखिम देखिए सुरक्षित स्थानमा सर्न भनेको छ ।
साथै धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउन पनि प्राधिकरणले आग्रह गरेको छ । प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ ।
पूर्वतयारी पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन प्राधिकरणले निर्देशन दिएको छ ।










