गोल्यान ग्रुपले जेन–जी आन्दोलनका सहीद परिवारलाई शैक्षिकवृत्ति प्रदान गर्ने, समझदारीमा भयो हस्ताक्षर

spot_img
spot_img

नेपालको अग्रणी औद्योगिक घराना गोल्यान ग्रुप र जेन–जी आन्दोलनका सहीद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्यान ग्रुपले यही असोज २४ गते घोषणा गरेको सहीद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा उक्त समझदारी गरेको हो ।

पहिलो चरणमा शुक्रबार ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ । सम्झौतामा गोल्यान समूहको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरुका अभिभावकले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार गोल्यान ग्रुपले सहीद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ । ‘छात्रवृत्ति स्वरुप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,’ समझदारीपत्रमा भनिएको छ, ‘आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्यान ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधिनमा रही तीन पक्षीय सम्झौता गर्न सकिनेछ ।’

शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ ।

अभिभावकहरुले दिएको जानकारीका आधारमा यूरो स्कुल छाउनी, प्याराडाइज इंलिस स्कुल सानेपा, जागृति विद्यासदन इंलिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैह्रेले जानकारी दिइन् । ‘हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाइँहरु एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौं भन्ने भावनाले सहयोगको हात बढाएका हौं,’ उनले भनिन्, ‘सहीद परिवारका बालबालिकासँग उनीहरुको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौं ।’

गोल्यान ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख गैह्रेले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेन–जी आन्दोलनका सहीद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको बताइन् । उनका अनुसार सहीद परिवारका घरमै गएर उनीहरुको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो । ‘हामीले क्रमशः अन्य सहीदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौं, उहाँहरुको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्नेछौं,’ उनले भनिन् ।

समझदारीपत्र हस्ताक्षरको अवसरमा सहिद परिवारका एक सदस्यले गोल्यान ग्रुपले बालबालिकाको भविष्यलाई उच्च महत्व दिएर सहीदका सपनाको सम्मान गरेको बताए । ‘गोल्यान ग्रुपले सहीद परिवारका बालबच्चाको शिक्षाको दायित्व व्यहोरेर हामीलाई ठूलो गुन लगाएको छ,’ उनले भने, ‘मेरो घरमा यो दायित्व बोकेको छोरो सहिद भएर गयो, अब गोल्यान ग्रुप मेरो नातिको अभिभावक बनेको छ ।’

आन्दोलनमा आमा गुमेपछि दुई भाइ–बहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौं सानो भ¥याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् । बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो । ‘बुवा–आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,’ उनले भनिन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मन्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्यान ग्रुपप्रति आभार व्यक्त गरिन् । मन्जुका श्रीमान् अनिष पराजुलीको महाराजगन्जमा गोली लागेर मृत्यु भएको थियो । उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन् । उनीहरुको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्यान ग्रुपले लिएको छ ।

गोल्यान ग्रुपले स्वास्थ्य बीमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका सहीद परिवारका बुवा र आमाका लागि बीमार्माफत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख गैह्रेले जानकारी दिइन् ।

उनका अनुसार दोस्रो चरणमा तिहारलगत्तै बाँकी सहीद परिवारलाई भेटेर कार्यक्रममा जोडिनेछ । काठमाडौं बाहिर रहेका सहीद परिवारसँग पनि सम्पर्क गर्ने काम भइरहेको र कात्तिक महिनाभित्र सबैलाई घोषणाअनुसार सहयोग कार्यक्रममा आवद्ध गरिने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...