नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य एवम् संगठन विभागका सचिव माधब ढुंगेलले रोचक प्रस्ताव गरेका छन् । बैठकको दोस्रो दिन आफ्नो ७ बुँदे धारणा राख्दै उनले युवा पुस्तालाई भुलाउन साँझ चोक चोकमा कन्सर्ट गर्नुपर्ने सुझाव राखेका हुन् ।
‘पुस्ता अनुसारका मुद्दाहरु हुन्छन । उनीहरुलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरुमा साँझ कन्सर्टहरुको आयोजना गर्नु पर्दछ’ उनले भनेका छन् ।
उनले आफ्नो धारणामार्फत आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा उभ्याएका छन् । यद्यपी, पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सर्वसम्मत ढंगले जिम्मेवारी समेत किटान गरेर मात्र पार्टी सदस्यता दिनु उचित हुने ढुंगेलको मत छ ।
ढुंगेल राष्ट्रिय युवा परिषदका संस्थापक कार्यकारी उपाध्यक्ष हुन् । उनलाई तत्कालिन ओली सरकारले नै दुइ पटक युवा परिषदको कार्यकारी उपाध्यक्ष बनाएको थियो ।









