उदयपुरमा गुडिरहेको फोर्ड कम्पनीको गाडीमा एक्कासी आगो लागेको छ । कारमा एक्कासी आगो लाग्दा सवार बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदन भण्डारी लोकमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा रोडमा गुड्दा गुड्दैको कारमा एकाएक आगो लागेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार चुलाचुली गाउँपालिका–५ इलामका आरोन सेन्चुरी घाइते भएका छन् ।
‘फोर्ड कम्पनीको गाडीमा एक्कासी आगो लागेको हो, चुलाचुली गाउँपालिका–५ इलामका प्रेमकुमार सेन्चुरीले गाडी चलाउनु भएको रहेछ, गाडीमा उहाँकी श्रीमति अनिता सेन्चुरी, छोरा आयुष सेन्चुरी र आरोन सेन्चुरी सवार हुनुहुँदो रहेछ’ डिएसपी दोङले भने, ‘आरोन सेन्चुरी चाहिँ सामान्य घाइते छन् । सायद, जिल्ला अस्पतालले डिस्चार्ज पनि गरिसक्यो होला ।’
बा ९ च ८६६८ नम्बरको फोर्ड कम्पनीको कारमा सेन्चुरी परिवार इलामबाट काठमाडौँ आउँदै थिए । डिएसपी दोङका अनुसार आगलागीको कारण भने पत्ता लागेको छैन ।
‘उहाँहरुले (कारमा सवारहरुले) एक्कासी आगो लाग्यो भन्नु भएको छ, कार फोर्ड कम्पनीको रहेछ, अहिले जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ’ उनले थपे, ‘अब थप अनुसन्धान गर्छौँ ।’









