अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिशन प्रमुख Jahan Sarwat बीच आज भर्चुअल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा मिशन प्रमुख Jahan Sarwat ले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल भएको छ।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको र हालै जेन्जी युवाहरुको नेतृत्वमा भएको प्रदर्शनका क्रममा व्यक्त भएको सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए । मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने जानकारी गराए ।
उक्त अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा कार्यान्वयन भैरहेको Extended Credit Facility को कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड बैठकमा पेश गर्ने विषयमा छलफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका मिशन प्रमुख जहानले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी दिईन् ।
उक्त अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपालस्थित आवशीय प्रतिनिधि प्रणव गुप्ताको समेत उपस्थिति रहेको थियो ।









