निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले भदौ २४ गते केन्द्रीय कार्यालयमा तोडफोड, आगजनी र चोरी गर्नेहरुविरुद्द उजुरी दिएको छ । कम्पनीले एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा तोडफोड, आगजनी र डकैतीको घटना भएको र ठूलो क्षति पुगेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यलय काठमाडौंमा उजुरी दर्ता गराएको हो ।
उजुरीमा घटनामा संलग्नलाई पक्राउ गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको माग गरिएको छ । उजुरीमा चोरी गरेर लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाउन माग गरिएको छ ।
उपकरणहरु तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरु तोडफोड गरेको, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्वपुर्ण कागजातमा आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरु समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।
एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमुल्य विद्युतीय समानहरु, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरु चोरी गरी लगेको, कर्मचारीहरुलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान समेत लगेको उजुरीमा भनिएको छ ।
मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरु बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरु डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महंगा मोटर गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रुपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरु समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाइएको छ ।
प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।
तोडफोड, आगजनी, डकैतिबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गर्न मुल्याङ्कनको कार्य भैरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ ।









