काठमाडौँमा भएको जेनजी आन्दोलनका कारण ठूलो जनधनको क्षतिसँगै अहिले देश करिब करिब सरकारबिहिन अवस्थामा छ । तर, आन्दोलनकारीहरु भने वार्ता अघि बढाउनु त परैको कुरा, एकाकार समेत हुन सकेका छैनन् । समूह नै पिच्छे फरक फरक मत र आवाज आइरहेका छन् ।
राजनीतिक निकास दिने प्रस्ताव आउनुको सट्टा फरक फरक समूहका नामबाट प्रधानमन्त्री कसलाई बनाउने भन्ने नाम आइरहेका छन् । जसका कारण राजनीतिक तरलता लम्बिएको छ ।
सेनासँग वार्ताका लागि जाने तयारी पनि संगठित रुपमा हुन सकेको छैन । जसका कारण सेनाले नै कुन समूह आधिकार हो, कुन होइन भन्ने छुट्याउन सकेको छैन । जसका कारण परिस्थिति थप जलिट बन्दैछ ।
भर्चुअल वार्तामा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाममा करिब करिब सहमत भएको देखिएपनि अहिले कुलमान घिसिङको नाम प्रस्तुत गर्दै अर्को समूह खडा भएको छ । धरानका मेयर हर्क साम्पाङ राईले त समर्थक नै उतारेर एक खालको दबाब दिने प्रयत्न नै गरिरहेका छन् ।
सबैले स्वीकार गरेका काठमाडौँका मेयर बालेन साहले भने अन्तरिम सरकारको नेतृत्व लिन रुची नै नेखाएपछि जेनजी आन्दोलनकारीहरु थप अन्योलमा परेका छन् । उनले पहिला संसद विघटन हुनुपर्ने अडान राखेपछि आन्दोलनरत समूहहरु नै यसमा विभाजित देखिएका छन् ।
जेनजीहरुले स्पष्ट खाकासहित प्रस्तुत हुन नसक्दा सैनिक मुख्यालय नंगी अड्डाबाहिर विभिन्न व्यक्तिका समर्थकहरु प्रदर्शनमै उत्रिने अवस्था आएको छ ।
दलका नेताहरु पनि भूमीगत छन् । उनीहरुमध्ये माओवादी अध्यक्ष प्रचण्डले संस्थागत धारणा सार्वजनिक गरेका छन् । एमालेले सचिवालय बैठकमार्फत धारणा निकालेको छ । कांग्रेसबाट महामन्त्री द्वयले पार्टीको धारणा निकालेका छन् । यसबाहेक एकाधले विज्ञप्ति र भिडियो सन्देश जारी गरेपनि उनीहरु सार्वजनिक रुपमा वार्ता र छलफलका लागि तयार देखिँदैनन् । एक हिसाबले भन्ने हो भने लखेटिएका नेताहरुमा अहिले वार्तामा बस्ने आँट पनि छैन ।
यसर्थ, अहिले विभिन्न समूहले प्रस्ताव गरेका सुशिला कार्की, बालेन साह, कुलमान घिसिङ र हर्क साम्पाङले साझा दृष्टिकोण सार्वजनिक गर्नु उचित्त हुन्छ ।









