WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने उद्देश्यसहित आफ्नो राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बीट द स्पीड – सिजन ३’ को औपचारिक घोषणा गरेको छ । तेस्रो संस्करणमा प्रवेश गरेको यो अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रासरुट क्रिकेटलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।
अघिल्ला सिजनहरूको सफलतासँगै ‘बीट द स्पीड’ ले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको छ । गत सिजनका विजेता Hikmat Mahara ले नगद रु. १ लाखसहित Just Cricket Academy मा तीन महिनाको प्रशिक्षण अवसर प्राप्त गरेका थिए । त्यसपछि उनी SudurPaschim Royals बाट ‘आइकनिक प्लेयर’ का रूपमा छनोट भएका थिए भने Nepal Premier League मा आफ्नो पहिलो खेलमै पहिलो विकेट लिँदै चर्चा बटुलेका थिए ।
त्यस्तै, Kiran Chand लाई निर्णायकहरू Gyanendra Malla र Kalam Ali ले ‘प्रोमिसिङ ट्यालेन्ट’ का रूपमा छनोट गरेका थिए । चन्दले रु. ५० हजार नगदसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण प्राप्त गरेका थिए र पछि Kathmandu Gorkhas को डेभलपमेन्ट स्क्वाडमा समावेश भएका थिए ।
२३ सहरमा राष्ट्रव्यापी यात्रा
सिजन–३ को सुरुवात वैशाख ४ गते Janakpur बाट भइसकेको छ। यससँगै कार्यक्रमले देशका २३ सहर समेट्ने राष्ट्रव्यापी यात्रा सुरु गरेको छ। तालिका यसप्रकार रहेको छ:
- वैशाख ४ – जनकपुर
- वैशाख ५ – लहान र राजविराज
- वैशाख ६ – विराटनगर
- वैशाख ७ – दमक
- वैशाख ८ – इटहरी
- वैशाख १० – मलंगवा र गौर
- वैशाख ११ – सिमरा र वीरगञ्ज
- वैशाख १२ – हेटौंडा र चितवन
- वैशाख १३ – बुटवल
- वैशाख १४ – भैरहवा
- वैशाख १५ – लमही र घोराही
- वैशाख १६ – नेपालगञ्ज
- वैशाख १७ – सुर्खेत
- वैशाख १९ – धनगढी
- वैशाख २० – महेन्द्रनगर
- वैशाख २२ – बैतडी (पहिलो पटक समावेश)
- वैशाख २४ – पोखरा
- वैशाख २६ – काठमाडौं
प्रारम्भिक चरणपछि सबैभन्दा छिटो बलिङ गर्ने उत्कृष्ट १० खेलाडीलाई काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनोट गरिनेछ ।
एन्ड्र्यू लियोनार्डको सहभागिता
यस सिजनमा चर्चित क्रिकेट कमेन्टेटर Andrew Leonard को सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको छ । वर्ल्डलिङ्कका Chief Marketing Officer Tenzin Choegyal का अनुसार, लियोनार्डले प्रारम्भिक चरणका केही सहरमा उपस्थित भई खेलाडीहरूसँग अन्तरक्रिया गर्नेछन् भने काठमाडौंमा हुने ग्रान्ड फाइनल पनि होस्ट गर्नेछन्।
निर्णायक र पुरस्कार
यस वर्ष पनि प्रतियोगिताको निर्णायकमा ग्यानेन्द्र मल्ल र कलाम अली रहनेछन्।
प्रतियोगिताका पुरस्कारहरू:
- विजेता: रु. १,००,०००
- प्रथम उपविजेता: रु. ५०,०००
- दोस्रो उपविजेता: रु. २५,०००
यसका अतिरिक्त, विजेता र निर्णायकले छनोट गरेको ‘प्रोमिसिङ ट्यालेन्ट’ दुवैले जस्ट क्रिकेट एकेडेमी, बेंगलोरमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण अवसर प्राप्त गर्नेछन्, जसको सम्पूर्ण खर्च वर्ल्डलिङ्कले व्यहोर्नेछ।
बीट द स्पीडबारे
‘बीट द स्पीड’ वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको एक प्रमुख ग्रासरुट क्रिकेट पहल हो, जसले नेपालका तीव्र गतिका बलिङ प्रतिभाहरूको खोजी र विकासमा केन्द्रित छ । देशव्यापी पहुँच र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसरको संयोजनमार्फत यो अभियानले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।













