Saturday, November 15, 2025
spot_img

असार १५ः धान दिवस र दही चिउरा खाने दिन, यस्ता छन् दही खानुका फाइदाहरु

spot_img

नेपालमा असार १५ गतेलाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ । यस दिन परापूर्वकालदेखि नै दही–चिउरा खाने र धान रोपाइँको सुरूवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ ।

सन् २००४ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । नेपाल पनि कृषि प्रधान मुलुक भएकाले खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ ।

सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धान खेती हुँदै आएको छ । तर, आधुनिक प्रविधि र सिप आम किसान माझ समान रुपमा पुग्न नसक्दा खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको निष्कर्ष छ ।

नेपाली संस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ । वर्षा याममा हिलाम्य भएको शरीरमा दही खाँदा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

यो दिन अधिकांश नेपालीले दही चिउरा खान्छन् । यस दिन अरू दिनको तुलनामा धेरै दही खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट नै दहीको जोहो गरेर राख्छन् । दही नपाइएला भनेर उपभोक्ताहरुले पनि अघिल्लो दिनदेखि नै दही खरिद गर्छन् । असार १५ गतेका दिन बेलुकापख डेरी पसलहरूमा दही अपुग नै हुन्छ ।

यस दिन मानिसहरू दही र चिउरामा केरा र आँप पनि मिसाएर खान्छन् । गाउँघरमा पनि सबैले घर घरमा आफैँले दही जमाएर खान्छन् । शहरी क्षेत्रमा कसै कसैले आफैं जमाए पनि धेरै जसोले भने किनेरै खाने चलन छ । आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर पनि यसको महत्व बढाइएको छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइ महोत्सव भनेर विगत १७ वर्षदेखि माउँदै आइएको छ । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ ।

आजभोलि विद्यालयका विद्यार्थीहरूलाई पनि दही चिउरा खुवाउने र रोपाईंमा सहभागी गराउने गरिएको छ । यो राम्रो पक्ष हो । पहिले पहिले बाजा बजाएर नाँच गान गर्दै रोपाईं गर्ने चलन थियो । त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर आजभोलि यो चलन हट्दै गएको छ । अब यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रो परम्परा लोप हुँदै जान्छ । अब हामीले यसलाई देखावटी मात्र नभई उपलब्धिमुलक बनाउन सक्नुपर्छ । यसले हाम्रो कृषि प्रधान देशमा धेरै ठूलो महत्व राख्छ ।

हामीले कति पटक धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के भयो भन्ने कुराले ठूलो महत्व राख्छ । हाम्रो देशमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै धान हो । तर अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्र भएर पनि अर्बौको धान आयात गर्दैछौं, यो दुःखद कुरा हो । अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्छ । दैनिक सयौं युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुँदैन। अब विदेशिएका युवाहरुलाई स्वदेशमा कसरी आकर्षित गर्ने र विदेश जान कसरी रोक्ने भन्ने कुरातिर हामी लाग्न आवश्यक छ ।

कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्र मध्ये दुग्ध क्षेत्र एक महत्वपूर्ण क्षेत्र हो । अहिले हामी करीब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न सक्ने भएका छौं । यस्तो अवस्थामा हामी अब कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेतिर लाग्न आवश्यक भइसक्यो । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भन्ने जुन नाम छ, त्यो नामलाई बचाउन लागौं र कृषि क्षेत्रको विकास नभइ अरू कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन भन्ने मुख्य कुरा बुझेर त्यस अनुसार अघि बढौँ । कृषिका उपजहरुको आयात रोकि अब निर्याततर्फ लाग्न ढिला भइसकेको छ । हामी सबैलाई यस वर्षको असार १५ गतेले यसतर्फ लाग्न प्रेरित गरोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

दही खानुका फाइदाहरुः

– दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

– दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ ।

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

– खाना नरुच्ने समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।

– आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ ।

– दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।

– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।

– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्‍याउँछ ।

– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।

– अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।

– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्‍याउँछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img