Friday, April 24, 2026
spot_img
spot_img

‘ईभीको सेन्टिमेन्टमा पेट्रोल तथा डिजेल गाडीको बिक्री कम भएको होइन’ (अन्तरवार्ता)

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म अटोमोबाइल्स व्यवसायको कुम्भ मेला मानिने ‘नाडा अटो शो’ आयोजना गर्दैछ । नाडाले ‘अटो शो २०२४’ को तयारी अन्तिम चरणमा पुर्‍याइसकेको छ ।

अहिले इलेक्ट्रिक भेहिकलको चर्चा जतासुकै चुलिएको छ । दशैँको मुखैमा सुरु हुने यसपालीको ‘अटो शो’मा पनि विद्युतीय सवारी साधनको बर्चश्व देख्न पाइनेछ । कम्पनीहरुले नयाँ नयाँ ब्राण्ड र मोडलहरु अटो शोकै अवसरमा सार्वजनिक पनि गर्ने बताइरहेका छन् ।

सुस्ताएको अटोमोबाइल्स बजार र नाडा अटो शोले दिन सक्ने ‘माइलेज’का सम्बन्धमा केन्द्रित रहेर बिजनेशपाना डटकमले ‘अटो शो’ आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नाडाले अटो शोको तयारी करिब करिब सकिसकेको छ, यसपालीको अटो शो के विषयमा बढी केन्द्रित हुँदैछ ?

नाडाले हरेक वर्ष आयोजना गर्दै आएको अटो शो हरेक वर्ष केही न केही फरक हुँदै आएको छ । हामीले गाडीको आयात बन्द हुँदा केही वर्ष पहिला ‘ईभी शो’ गर्‍यौँ । त्यसपछिको वर्षमा अटो शोमा मुख्य उपस्थिति नै विद्युतीय सवारी साधनको हुन थाल्यो ।

अर्को कुरा भनेको, नाडा अटो शो भनेको जानकारी प्रदान गर्ने थलो पनि हो । ग्राहकलाई विश्व बजारमा के भइरहेको छ, अटोमोबाइल्स उद्योग कहाँ जाँदैछ, कस्ता कस्ता उत्पादनहरु आउँदैछन् भन्ने जानकारी दिनु अटो शोको लक्ष्य रहँदै आएको छ । विश्व बजारमा गाडी तथा अटो कम्पोनेन्टमा भइरहेको विकास, नयाँ नयाँ प्रविधि सम्बन्धि जानकारी एकै ठाउँमा प्राप्त हुनु नै नाडा अटो शोको विशेषता रहँदै आएको छ । यसपाली पनि यसलाई निरन्तरता दिने नै छौँ ।

सँगै, यसपालीको अटो शो सरकारी निकायबाट नीतिगत स्थिरताको पहलमा केन्द्रित हुनेछ । सरकारले, सरकारी निकायहरुले स्थिर नीति दिएमा मात्रै अटोमोबाइल्स व्यवसाय फस्टाउन सक्नेछ । हाम्रो यसपालीको मुख्य उदेश्य नीतिगत स्थिरताका लागि पैरवी गर्नु हुनेछ ।

नाडाले विगतदेखि नै नीतिगत स्थिरता भएन भन्दै आएको छ । तपाईहरुकै आवाज सुनेर होला, एसेम्बल उद्योगलाई सरकारले सहजीकरण गरेकै कारण केही दुइ पाङ्ग्रे र चार पाङ्ग्रे सवारी स्वदेशमै उत्पादन हुन सुरु पनि भइसक्यो । अझै नीतिगत स्थिरता भनिरहनु भएको छ, तपाईहरुले चाहेको नीतिगत स्थिरता कस्तो हो ?

नेपालमै सवारी उत्पादन गर्ने सवालमा दुइ पाङ्ग्रेको व्यवसाय गरिरहेका चार/पाँच वटा कम्पनीले अग्रसरता लिएर एसेम्बल सुरु गर्नुभयो । चार पाङ्ग्रेमा लक्ष्मी ग्रुपले केही महिना अघि मात्रै स्वदेशमै हुण्डाईको उत्पादन थालेको छ । यो राम्रो पक्ष हो ।

आजको मितिमा हामीले खोजेको स्थिरता करमा हो । आज हामीले हेर्ने हो भने करको दर कुन दिन तलमाथि हुन्छ वा सरकारले कुन दिन चलाउँछ भन्ने कुनै ग्यारेन्टी छैन । करका दरहरु चलाउने हो भने अहिले भइरहेको एसेम्बललाई धक्का लाग्छ । यसकारण यसमा पनि स्थिरता होस् भन्ने नाडाको माग हो ।

अर्को कुरा, अन्यौलतामा रुमल्लिएर उद्योग भन्ने चिज चल्न सक्दैन । भोली के हुन्छ भन्ने ग्यारेन्टी नभएपछि वर्षौको योजना बनेर चलेका उद्योग र व्यवसायहरुको भविष्य पनि अन्यौलमै हुन्छ । सरकारले हजारौँ नयाँ रोजगारी सिर्जना गर्छु भनिरहेको छ । यस्तो अवस्थामा हजारौँलाई रोजगारी दिइरहेको र नीतिगत स्थिरताको ग्यारेन्टी हुनासाथ भविष्यमा थप हजारौँ रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले अटोमोबाइल्समैत्री नीति नियमहरु आजको आवश्यकता हो ।

कुनै बेला मुलुकको कुल ग्राहस्थ उत्पादनमा अटोमोबाइल्स क्षेत्रको योगदान २२ प्रतिशत थियो, अहिले पनि ९ प्रतिशत छ । जीडीपीमा २२ प्रतिशतसम्म योगदान दिएको क्षेत्रबाट आज जम्मा ९ प्रतिशत मात्रै हुने अवस्था किन आयो त ? यसको अर्थ, जीडीपीको यति ठूलो हिस्सा ओगटेको क्षेत्रलाई अनुकुल हुने नीतिहरु नै भएनन् । आज पनि अनुकुल हुने गरि नीतिहरु बन्ने हो र, प्रतिकुल नीतिहरु संशोधन हुने हो भने फेरि २२ प्रतिशत पुग्न कत्ति पनि समय लाग्दैन ।

यसका लागि नीतिगत स्थिरता जरुरी छ । चाहे भन्सार सम्बन्धि नीति होस्, चाहे कर तथा राजश्व सम्बन्धि नीति होस्, सबै खालका नीतिहरुमा कम्तीमा यति वर्षका लागि हाम्रो अटोमोबाइल्समा यो नीति हुनेछ भन्ने ग्यारेन्टी हुनु आवश्यक छ ।

यसपालीको अटो शोमा विद्युतीय सवारी साधनको बर्चश्व देखिँदैछ, तपाईले पत्रकार सम्मेलनमा पनि ८० प्रतिशतमाथि ईभीका स्टल छन् भन्नु भएको थियो । यसलाई आधार मान्दा अब नेपालको अटोमोबाइल्स बजार ईभीमा ‘कम्प्लिट्ली सिफ्ट’ भएको मान्न सकिन्छ ?

मैले यसलाई बाध्यात्मक रुपमा सरकारले सिफ्ट गराएको भन्ने गर्दछु । किनभने, ईभीका लागि नीतिहरु लचिला छन्, राम्रा छन् । तर, एउटै समयमा डिजेल पेट्रोल गाडीका लागि नीतिहरु सहज छैनन् । यसकारण ग्राहकले ‘सिफ्ट’ गरेको विषयमा म जान चाहान्न । सरकारले धकेलेको चाहिँ पक्कै हो । सरकारले धकेल्दा धकेल्दै पनि डिजेल पेट्रोल गाडी नै चाहने वर्ग पनि छ । सँगै, यसो भन्दै गर्दा ईभीको खपत बढ्नु नराम्रो कुरा होइन । ईभी चाहने पनि छुट्टै वर्ग बनिसकेको छ ।

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिँदा पनि सार्वजनिक यातायातमा ईभीको उपस्थिति कमजोर नै छ । सार्वजनिक यातायातमा ईभीको प्रयोग किन बढ्न सकेन ? यसमा नाडाको धारणा के छ ?

सरकारको सोचमा परिवर्तन जरुरी छ । ईभीलाई प्रोत्साहन गर्नु नेपाल जस्तो उर्जामा सम्भावना भएको मुलुकका लागि राम्रो हो । तर, यहाँ के भइदियो भने ईभी प्रोत्साहन गर्ने भनेपनि बजेटबाट करका दरमा अस्थिरता निम्त्याउन सुरु भइसक्यो । यसपालीकै बजेट हेर्ने हो भने ईभीमा करका दरलाई चलाइएको छ । बजेटबाट ईभीको करमा अस्थिरता ल्याउने काम सुरु भइसकेपछि नाडाले आफ्नो ध्यानाकर्षण भएको भन्दै यो राम्रो भएन भनेर धेरै निकायमा कुरा पनि राख्यौँ ।

अर्को कुरा, सरकारले ईभीलाई प्रोत्साहन गर्ने भनेपनि व्यवसायिक सवारी साधन र मालबाहक सवारीमा ईभीलाई प्रोत्साहन गर्न सकेको छैन । यात्रुबाहक सवारी साधनमा पनि ‘फोकस’ गरेको छैन । अहिले साझा यातायातले केही ईभी बसहरु ल्याएको चाहिँ छ, तर सरकारको जुन ‘लेवल’को फोकस हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।

मैले के भन्ने गरेको छु भने, ‘मास ट्रान्स्पोर्ट’मा ईभीको प्रयोग बढाउने र त्यसमा फोकस हुने काममा सरकार ढिलाई गरिरहेको छ । जबकी, हामीले हाम्रो देशमा उत्पादन हुने विद्युत यहीँ खपत गर्ने एउटा माध्यमका रुपमा ईभीलाई लिएका छौँ भने अहिले नीजि सवारीका रुपमा मात्रै ईभी बेचेर हुँदैन । यदि साँच्चै उर्जा खपत बढाउने हो भने ‘मास ट्रान्स्पोर्ट भेहिकल’का रुपमा ईभीको प्रयोग बढ्नुपर्छ, अनि मात्रै विद्युत खपत बढ्न सक्छ ।

अहिले स्वदेशको बिजुली खपत हुन्छ भनेर ‘सेन्टिमेन्ट’का रुपमा ईभीको माहोल बढेको छ, तर वास्तविकतामा अहिले बिक्री भइरहेका निजी विद्युतीय सवारी साधनले खासै विद्युत खपतमा योगदान दिएका छैनन् भन्ने चर्चा पनि छ । यसका लागि ‘मास ट्रान्स्पोर्ट भेहिकल’का रुपमा ईभीको प्रयोग बढ्नुपर्छ भनिरहँदा नाडाले चाहिँ कत्तिको ‘लविङ’ गरिरहेको छ ?

म यहाँहरुलाई प्रष्ट रुपमा के भन्न चाहन्छु भने ईभी बिक्री हुनुपर्छ, यसमा दुइमत छैन । यसो भन्दै गर्दा आईसी इन्जिनका गाडीहरुको पनि बिक्री कमजोर हुनु हुँदैन । अहिले जनमानसमा ईभीको कारणले आईसी इन्जिनवाला गाडीको बिक्री नभएको भन्ने जुन भाष्य छ, यो गलत छ । यो भाष्यलाई सच्याउनुपर्नेछ ।

अर्को कुुरा, अहिले हामी उर्जा उत्पादनका हिसाबले माथि जाँदैछौँ । तर, हिउँदमा हाम्रो उत्पादनले नपुगेर विद्युत आयात पनि गर्दै आएका छौँ । उर्जा आयात गर्दा मुद्रा बाहिरिन्छ । उत्पादन बढी भएको बेलामा बिक्री पनि गर्दैछौँ, थप बिक्री गर्ने योजना पनि सरकारले बनाइरहेको छ ।

अहिले विद्युत खपत बढाउने कुरा छ, मानौँ सरकारले १० चीजमा सहजता दिने गरेको छ भने ईभीका लागि त्यो १० चीजमै दिएको सुलभले योगदान गरिरहेको छ भन्ने मेरो विश्वास छ । तर, केही पनि नीति स्थिर भयो भने मात्रै दीर्घकालमा मुलुकका लागि फाइदा हुन्छ ।

यसकारण दीर्घकालमा मुलुकलाई फाइदा हुने गरि ‘मास ट्रान्स्पोर्ट भेहिकल’का रुपमा ईभीको प्रयोग बढाउने गरि अघि बढौँ भनेर नाडाले बारम्बार भन्दै आएको छ ।

साथै, अहिले ईभीको कुरा गरिरहँदा विद्युत खपत मात्रै होइन, एकैपटक धेरै यात्रुलाई बोकेर यात्रा गराउन सक्ने ईभीको कुरा बढी गर्दा नै सरकारलाई यसले दीर्घकालिन रुपमा लाभ दिन्छ भन्ने लाग्छ । अहिले यति पेट्रोल हालेपछि गाडी यति किलोमिटर गुड्छ भने जस्तै यति चार्ज गरेपछि यति किलोमिटर गुड्छ भन्ने कुरा पनि आउला । अहिले फूल चार्जको रेन्जको मात्रै कुरा भइरहेको छ ।

ईभीको खपत बढ्दै जाँदा ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ कि भन्ने चिन्ता पनि बढिरहेको देखिन्छ, यसतर्फ चाहिँ अटो शोमा कुनै कुरा उठ्छन् कि उठ्दैनन् ? वा संस्थागत रुपमा नाडाले यस विषयमा के गरिरहेको छ ?

ब्याट्रीबारे भविष्यमा के गर्ने भन्ने सरकारकै नीति हुनुपर्छ । ईभी आयात गर्छौ, ईभीको मूल्यको ६० प्रतिशत जति त्यहाँ जडान भएको लिथियम ब्याट्रीको मूल्य हो । अहिले ईभीको आयात बढिरहेको छ भनेपछि ठूलो मात्रामा हामी लिथियम ब्याट्री पनि आयात गरिरहेका छौँ । अहिले हामी सुन्दैछौँ, ईभी आयात गर्नेले नै ब्याट्री वा लिथियम पनि फिर्ता गर्नुपर्छ वा आफैँले व्यवस्थापन गर्नुपर्छ भन्ने आवाज आइरहेका छन् ।

तर, ८ वर्षपछि ब्याट्रीको आयु सकिन्छ भने ८ वर्षमा त्यसमा भएको लिथियम शून्य हो र ? त्यसको स्वदेशमै सदुपयोग किन नगर्ने ? गाडीसँगै आएको बहुमूल्य लिथियमलाई हामी फेरि उतै पठाउने ? हामीसँग विभिन्न सरकारी निकाय छन्, तिनले लिथियमको ‘रि–यूज’ गर्नेबारे अनुसन्धान गरुन् र त्यसबाट अर्को वस्तु बनाएर निकासी गर्न सकियोस् । यसो हुँदा विदेशी मुद्रा पनि आउँछ, बहुमूल्य लिथियमको उपयोग पनि भयो । यसतर्फ सरकारले सोच्न सकेको छैन, तर नाडाले यो विषय बारम्बार उठाइरहेको छ ।

फाइनान्सिङ महँगो हुँदा पनि उपभोक्ताले असजिलो मानिरहेका छन् भन्ने बिक्रेताहरुको गुनासो छ, ‘अटो शो’बाट गाडीको फाइनान्सिङ सम्बन्धि सहजीकरण चाहिँ कसरी हुँदैछ ?

अटो शोमा बैंकहरुको पनि स्टल रहन्छ । नाडाले सिँधै बैंकहरुलाई यस्तो गरिदिनुस्, उस्तो गरिदिनुस् भन्न पनि मिल्दैन । तर, बैंकहरुसँग वा बैंकर्स एसोसियशनसँग बस्दा हामीले संस्थागत रुपमा अटोमोबाइल्सका लागि लचिलो बनिदिनुपर्‍यो भन्ने गरेका छौँ । अब हामीले यसो भन्दै गर्दा उहाँहरुले पनि नियामक निकायको निर्देशन वा नियम भन्दा बाहिर जाने कुरा भएन ।

तर म के भन्न चाहन्छु भने, अटो शो केवल गाडी व्यवसायीको मात्रै पर्व होइन, बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको पनि पर्व हो । यसकारण यसपाली अटो शोमा बैंकहरुले उपभोक्तालाई सहज हुने र ग्राहकले रोचक महशुस गर्ने स्किमहरु ल्याउनुहुनेछ भन्ने मेरो विश्वास छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img