सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.०८ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख पुगेको छ। कम्पनीको संचालन नाफा भने २.३२ प्रतिशतले घटेर २ अर्बमा सिमित भएको छ ।
कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याएको रकम ५५.१० प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेको कारण खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा सामान्य घटेको देखिन्छ ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने बढेर ७७ करोड ५४ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम ५.२५ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता ५.२५ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ६१ करोड १३ लाख थियो ।
कम्पनीको चुक्ता पुंजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ६८ अर्ब कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८.७६ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.९४ प्रतिशत रहेको छ।












