काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ । २८ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योगले विगत ३२ वर्षदेखि शहरको पैसा गाउँ गाउँमा पठाउँदै आएको छ । उक्त डेरी उद्योगको नाम होः सिताराम गोकुल मिल्क ।
काठमाडौँ भित्रैको दूधपोखरी कुनै समय अनकन्टार गाउँको रुपमा चिनिन्थ्यो । यहाँको पानी अत्यन्त राम्रो भएका कारण यस क्षेत्रलाई दूधपोखरी भनिएको स्थानीहरु बताउँछन् । तर, दूध चाहिँ उत्पादन हुँदैनथ्यो । पानी नै दूध जस्तो राम्रो छ भन्ने आधारमा ठाउँको नाम नै दूधपोखरी रहन गएको बताइन्छ । ६० को दशकसम्म शहरीकरण त परैको कुरा, पूर्वाधार विकासले समेत नछोएको दूधपोखरी अहिले भने शहरीकरण र व्यवस्थित पूर्वाधार विकासको चरणमा पुगेको छ । यसरी सिङ्गो गाउँमा विकासको बाटो देखाउन पनि यो डेरी उद्योगले महत्वपूर्ण योगदान पुर्याएको त्यस क्षेत्रका स्थानीयहरु बताउँछन् ।
१ लाख किसान परिवारलाई जोड्दै १ सयभन्दा बढी रोजगारी सिर्जना
सिताराम गोकुल मिल्क (बोलीचालीको भाषमा ‘सिताराम डेरी’ भनिने) ले दैनिक २५ हजार लिटर दूध बजारमा पठाउँछ । कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाका अनुसार यसबाहेक थप ३ हजारदेखि ४ हजार लिटर जति दूध आइसक्रिम, फ्लेवर मिल्क, लस्सी जस्ता उत्पादन बनाउन खपत हुन्छ । उद्योगमा दैनिक १ लाख लिटर दूध खपत गर्न सक्ने क्षमता छ ।
चितवन, रुपन्देही र नवलपरासीबाट उद्योगले दूध ल्याउँछ । यसका लागि सिताराम मिल्क आजको मितिसम्म करिब १ लाख किसान परिवारसँग जोडिएको छ । यति मात्रै होइन, उद्योगमा प्रत्यक्ष रुपमा १ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । यीमध्ये ९० प्रतिशत स्थानीय छन् ।
आधुनिक प्रविधि र प्राविधिक परीक्षण
दूध, दही र दूग्धजन्य उत्पादन भनेको मानिसको भान्छामा दैनिक पुग्ने उत्पादनहरु हुन् । यी उत्पादनहरु मानव स्वाथ्यका लागि उत्तिकै आवश्यक पनि हुन्छन् । तर, यी उत्पादनहरु उपभोग गर्दा मानव स्वास्थ्यमा कुनैपनि असर नहोस् भन्नका लागि सिताराम मिल्क अधिकतम् सचेत देखिन्छ । यसका लागि उद्योग आफैँले आधुनिक ल्याब स्थापना गरेको छ ।
उद्योगभित्र दूध आउनासाथ परीक्षण गर्ने एउटा आधुनिक ल्याब छ भने उत्पादन भइसकेपछि प्याकेजिङमा पठाउनु अघि परीक्षण गर्ने अर्को ल्याब छ । ल्याबबाट परीक्षण भएर उपभोग योग्य प्रमाणित नभएसम्म कुनैपनि उत्पादन प्याकिङ गरिँदैन । दूध र यसबाट उत्पादित विभिन्न परिकारहरुको प्राविधिक परीक्षण गर्न मात्रै ४ जना प्राविधिकहरु खटिएका छन् ।
यति मात्रै होइन, उद्योगले आधुनिक प्रविधिको प्रयोगलाई अपनाएको छ । विभिन्न उपकरण र ट्याङ्कीसमेत प्रविधिको सहायताले सरसफाई गरिन्छ । कम्पनीले स्वीडेन र भारतबाट आधुनिक मेशिन र उपकरणहरु भित्र्याएको छ ।
हजुरबुबादेखि नातीसम्म
केडिया अर्गनाइजेशन नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रमा ठूलो योगदान दिएको समूह हो । यो समूह उत्पादनमूलक र कृषिजन्य उद्योगका लागि ख्यातीप्राप्त घरानाका रुपमा चिनिन्छ । समुदायको सेवा गर्नुपर्छ भन्ने भावबाट ओतप्रोत यो परिवारले वीरगञ्जदेखि देशका धेरै भू–भागमा सामाजिक काम पनि गरेको छ ।
सुरुदेखि नै कृषिलाई व्यवसायिक बनाउनुपर्छ भन्ने भाव सुमितका हजुरबुबा शंकरलाल केडियामा थियो । त्यसै शिलशिलामा उनले सिताराम गोकुल मिल्कको स्थापना गरेका थिए । यो उद्योगको नाम सिताराम राखिनुमा निकै भावुक बनाउने पृष्ठभूमी छ ।
हाल उद्योग सम्हालिरहेका सुमितका ठूलोबुबाको नाम हो ‘सिताराम’ । उनी गाईँभैसी पालन र उनीहरुको रेखदेखमा खुब रमाउँथे । वीरगन्जमा रहँदा पनि सिताराम वस्तुभाउसँगै समय बिताउँथे, उनीहरुको लालनपालनमा ध्यान दिन्थे । शंकरलाल केडियाले डेरी उद्योग स्थापना गर्दा आफ्नो छोराको वस्तुभाउ र कृषि प्रतिको प्रेमलाई पछिसम्म जीवन्त राख्ने उदेश्यले डेरी उद्योगको नाम नै ‘सिताराम’ राखेका हुन् ।
त्यसपछि यो उद्योग सम्हाल्ने काम शंकरलालका छोरा विश्वनाथले गरे । उनको मार्गदर्शनमा डेरी उद्योगले उल्लेख्य सफलता हासिल गर्दै थियो । शंकरलालका नाती एवम् विश्वनाथका छोरा सुमित पनि उच्च शिक्षा हासिल गरेपछि डेरी उद्योगको व्यवस्थापनमा जोडिएका थिए । तर, कोरोना महामारीले उनीहरुको परिवारमा ठूलो बज्रपात निम्त्याइदियो । सुमितले आफ्ना पीता विश्वनाथ र ठूलोबुबाको छोरा (भाई)लाई एकैदिन गुमाउनुपर्यो । आज पनि त्यो दिन सम्झिँदा सुमित आफूलाई सम्हाल्न सक्दैनन् ।
दैवको खेल यस्तै भएपनि सुमित त्यसपछि आफ्ना हजुरबुबा र बुबाको अथक मेहनत र पसिनाबाट आर्जित सिताराम डेरीको व्यवस्थापनमा तल्लिन भएर लागिरहेका छन् । अध्ययन सकेर उनले सिताराम मिल्कको व्यवस्थापकीय जिम्मेवारी सम्हालेको करिब १३ वर्ष भइसकेको छ । हजुरबुबा र बुबाको पदचाप पछ्याउँदै सुमित केडिया आज केवल सिताराम मिल्कको मात्रै होइन, सिङ्गो नेपालकै दूध र दूग्धजन्य उत्पादनमार्फत ग्रामिण अर्थतन्त्र विकासको खाका कोरिरहेका छन् ।
उत्पादन, खपत र निर्यात
सिताराम मिल्कले सुरुमा दूध र घ्यू मात्रै उत्पादन गथ्र्यो । समय क्रमसँगै लगानी, जनशक्ति र प्रविधि थप गर्दै उद्योगले उत्पादन विविधिकरण गर्न थाल्यो । अहिले दूध, दही, लस्सी, घ्यू मात्रै नभई आधुनिक युवा पुस्ताको रोजाईलाई ध्यान दिँदै विभिन्न फ्लेवरमा क्यानमा प्याक गरिएको ‘फ्लेवर मिल्क’ बजारमा ल्याउँदैछ । सानो क्यानमा प्याक भएर बजार आउने यस्तो दूध ६ महिनासम्म खानयोग्य हुन्छ । यसको निर्यातका लागि अन्तर्राष्ट्रिय बजारसमेत पहिचान भइसकेको छ । निकट भविष्यमै निर्यात सुरु हुनेछ ।

उद्योगले प्याकेजिङ गरेर बजार पठाएको मोहीले छोटो अवधिमै बजारबाट अत्यन्त राम्रो प्रतिक्रया पाएको छ । यसले उनीहरुलाई हर्षित बनाएको छ । यहाँबाट उत्पादन भएर बजार पुग्ने मोही एकहप्तासम्म पिउनयोग्य छ ।
यसका साथै, उद्योगबाट उत्पादित घ्यू पनि अहिले मध्यपूर्वका देशहरुसहित जापानमा समेत निकासी हुँदै आएको छ । उद्योगका प्रबन्ध निर्देशक सुमित केडियाका अनुसार मासिक ३ टन जति घ्यू अहिले निर्यात भइरहेको छ ।
उद्योगले कुलेश्वरमा आफ्नै फ्याक्ट्री आउटलेटसमेत सञ्चालनमा ल्याएको छ । यसबाहेक सुपरमार्केट र स्टोरहरुमा पनि सिताराम मिल्कका उत्पादनहरु सहजै पाउन सकिन्छ । साथै, उद्योगले ‘अथोराइज्ड डिलर’ जस्तो मोडलमा बिक्रेता बन्न चाहनेहरुका लागि पनि सहजीकरण गर्दै उत्पादनहरु दिँदै आएको छ ।
हाल सिताराम मिल्कका उत्पादनहरु काठमाडौँ उपत्यकाका सबैजसो बजारमा पाइन्छ । सुपरमार्केटहरुसहित देशका प्रमुख शहरहरुमा पनि उपलब्ध छन् । बजारबाट खरिद गरेर उपभोग गर्ने उपभोक्ताहरुले गरेको विश्वासले उद्योगका सञ्चालक मात्रै होइन, यहाँ कार्यरत कर्मचारीहरुलाई पनि सन्तुष्टि दिएको छ । उपभोक्ताको सन्तुष्टिबाट प्रफुल्लित देखिएका उनीहरु भविष्यमा अझ स्तरीय र लोकप्रीय उत्पादनहरु बजार ल्याउने योजना बनाइरहेका छन् ।
‘हामीले मूल रुपमा तीन वटा विषयलाई ध्यान दिएका छौँ’ सुमित भन्छन्, ‘पहिलोः शहरको पैसा गाउँ गाउँमा पठाउने । दोस्रो, दूध र दूग्धजन्य उत्पादनमा आत्मनिर्भर बन्ने । र तेस्रो, निर्यात गरेर आयात प्रतिस्थापन गर्ने ।’












