नेपाल धितोपत्र बोर्डले नेपालमा आवरणयुक्त शर्ट सेलिङ अर्थात् Covered Short Selling सुरु गर्ने प्रस्ताव गरेको छ। नयाँ धितोपत्र वित्तीय सेवा (Securities Financing Services) संचालनका लागि Market Readiness तथा सरोकारवाला पक्षहरूको राय/सुझाव लिन पहिलोपटक Consultation Paper सार्वजनिक गर्दै बोर्डले यस्तो प्रस्ताव परेको हो।
आवरणयुक्त शर्ट सेलिङ्ग (Covered Short Selling) प्रणालीले धितोपत्र बिक्री गर्नुअघि सम्बन्धित धितोपत्र कानुनी रूपमा सापटी लिएको सुनिश्चित भएपछि मात्र बिक्री गर्न अनुमति दिन्छ। यसले बजारमा कृत्रिम अभाव सिर्जना हुने सम्भावनालाई न्यूनीकरण गर्नुका साथै मूल्य अन्वेषण प्रक्रियालाई थप प्रभावकारी बनाउने बोर्डको भनाई छ।
बोर्डका अनुसार आवरणयुक्त शर्ट सेलिङ्ग प्रणालीले बजारमा मूल्य अन्वेषण प्रक्रियालाई थप सन्तुलित र विश्वसनीय बनाउन सहयोग पुऱ्याउनेछ । हालको नगदमा आधारित प्रणालीमा मूल्य वृद्धि हुने अपेक्षा राख्ने लगानीकर्ताको सहभागिता प्रमुख रूपमा देखिन्छ। तर विकसित पूँजी बजारमा मूल्य वृद्धि तथा मूल्य घट्ने दुवै अवस्थालाई प्रतिबिम्बित गर्ने कारोबार प्रणालीले बजार मूल्यलाई उपलब्ध सूचनासँग छिटो समायोजन गर्न मद्दत पुऱ्याउँछ। बोर्डका अनुसार धितोपत्र सापटी भएको अवस्थामा मात्र आवरणयुक्त शर्ट सेलिङ्ग गर्न पाइने व्यवस्था गरिनेछ, जसले बजार अनुशासन र फछ्र्यौटको विश्वसनीयता कायम राख्नेछ।
बोर्डले अनावृत शर्ट सेलिङ्ग (Naked Short Selling) लाई अनुमति नदिई केवल पूर्ण रूपमा आवरणयुक्त शर्ट सेलिङ्ग प्रणाली लागू गर्ने प्रस्ताव गरेको हो। बोर्डले प्रष्ट रुपमा कुनै पनि अवस्थामा अनावृत (Naked) शर्ट सेलिङ्गलाई अनुमति नदिने स्पष्ट नीति प्रस्ताव गरेको छ।
बोर्डले अवधारणापत्रमा भनेको छ ‘आवरणयुक्त शर्ट सेलिङ्ग सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासले पनि एउटा महत्वपूर्ण सिद्धान्त स्थापित गरेको छ। शर्ट सेलिङ्गलाई बजारमा मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने, तरलता वृद्धि गर्ने तथा मूल्यको कृत्रिम असन्तुलनलाई न्यूनीकरण गर्ने साधनका रूपमा स्वीकार गरिए पनि अनावृत (Naked) शर्ट सेलिङ्गलाई अधिकांश विकसित तथा उदयीमान पूँजी बजारहरूले कडा रूपमा नियमन गरेका छन् । धितोपत्र सापटी तथा उधारो सुनिश्चित भएपछि मात्र शर्ट सेलिङ्ग गर्न दिने व्यवस्था नै अन्तर्राष्ट्रिय रूपमा व्यापक रूपमा स्वीकार गरिएको अभ्यास हो। यसले फछ्यौट असफलता (Settlement Failure ) तथा बजार दुरुपयोगको जोखिमलाई उल्लेखनीय रूपमा घटाउने गर्दछ ।’
बोर्डका अनुसार भारतमा पनि Naked शर्ट सेलिङलाई अनुमति नदिई धितोपत्र पूर्व सापटी भएको अवस्थामा मात्र शर्ट सेलिङ्ग गर्न दिने व्यवस्था लागु गरिएको छ।
Covered Short Selling र Naked Short Selling बीचको फरक
आवरणयुक्त शर्ट सेलिङ्ग (Covered Short Selling) मा लगानीकर्ताले धितोपत्र पहिले नै सापटी लिएको हुन्छ, वा धितोपत्र सापटी उपलब्ध हुने सुनिश्चित व्यवस्था गरेको हुन्छ । यसले वास्तविक धितोपत्र उपलब्धता सुनिश्चित गर्छ। साथै फछ्यौट जोखिम घटाउँछ र बजार पारदर्शिता कायम राख्छ। यस प्रकारको शर्ट सेलिङ्गलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको छ।
अनावृत शर्ट सेलिङ्ग (Naked Short Selling) मा लगानीकर्तासँग धितोपत्र हुँदैन र सापटी लिने व्यवस्था पनि सुनिश्चित हुँदैन । तर पनि बिक्री आदेश दिइन्छ । यसले Failure-to-Deliver बढाउन सक्छ, र कृत्रिम आपूर्ति सिर्जना गर्न सक्छ। यसले बजार दुरुपयोगको जोखिम बढाउन सक्ने भएकोले अधिकांश विकसित बजारहरूले Naked Short Selling लाई निषेध वा अत्यन्त कडा नियन्त्रण गरेका छन्।









