नेपालमा प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी गाडी सार्वजनिक भएको छ । काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो।
यो गाडी ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको हो। नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपालमा गाडी सार्वजनिक गरेको हो।
कम्पनीले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ओरा ५ ईभी सार्वजनिक गरिएको जनाएको छ। चीन र थाइल्यान्डपछि तेस्रो बजारको रुपमा नेपालमा गाडी सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार गाडीले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा उपलब्ध छन्।
कम्पनीका अनुसार यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश छन्। यसले सुरक्षित, स्मार्ट र दिगो यातायातको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।












