नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि सर्टलिस्टमा परेका ४ जनासँग अध्यक्ष छनौट सिफारिस समितिले आज शुक्रबार छलफल गर्दै छ। समितिले सर्टलिस्टमा परेका ४ जनासँग छुट्टाछुट्टै छलफल गर्न लागेको हो।
बोर्ड अध्यक्षको लागि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री, डा. गोपाल प्रसाद भट्ट सर्टलिस्टमा परेका छन् । अध्यक्षको लागि आवेदन दिएका ४७ जना मध्येबाट ४ जनाको नाम सर्टलिस्ट गरिएको हो। आज सर्टलिस्टमा परेका हरेकसँग समितिले आधा घण्टा छलफल गर्ने छ।
जस अनुसार समितिले डा. नवराज अधिकरीलाई १ बजे, विनयदेव आचार्यलाई १:३० बजे, मुकुन्द कुमार क्षेत्रीलाई २ बजे र डा. गोपाल भट्टलाई २:३० बजे बोलाईएको छ। छलफलपछि समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।मन्त्रिपरिषद्को बैठकले ति मध्येबाट १ जनालाई अध्यक्ष नियुक्त गर्ने छ।
सर्टलिस्टमा परेका नवराज अधिकारी धितोपत्र बोर्डमै २७ वर्ष सेवा गरेर एक महिना अगाडी मात्र अवकाश पाएका हुन्। उनले ५८ वर्ष उमेर हदका कारण कार्यकारी निर्देशक पदबाट अवकाश पाएका हुन्।
त्यस्तै विनयदेव आचार्य अहिले पनि धितोपत्र बोर्ड कै कार्यकारी निर्देशक पदमा कार्यरत छन्।
मुकुन्द कुमार क्षेत्री नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्, उनले २०८१ चैत्रमा अवकाश पाएका थिए।
डा. गोपाल भट्ट पनि राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएका हुन्, उनले शेयरबजार मै Phd गरेका छन् । यिनै गोपाल भट्टले पनि आवेदन दिएपछि सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा थिए। उनीहरु दुई जना दाजुभाई पर्ने भएकोले स्वार्थ बाझिने भन्दै डा. गुणाकर भट्टले राजीनामा दिए।












