काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई काठमाडौँलाई २४ घण्टा खुलाउनेबारे जिल्ला प्रशासन कार्यालयले तयारी गरिरहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया’मा उनले ठमेल मात्र नभई काठमाडौँलाई नै २४ घण्टा सञ्चालन गर्नेगरी अध्ययन र तयारी भइरहेको बताएका हुन् ।
“काठमाडौँलाई २४ सै घण्टा सञ्चालन गर्नेबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय गैरकानूनी गतिविधी बढेको भन्दै चिन्ता व्यक्त गरे । घरधनी र व्यवसायीले इमान्दारपूर्वक व्यवसाय गरे ठमेलभित्रको विकृति अन्त्य हुने भन्दै उनले महिनाको एकदिन ठमेलका बारेमा जिल्ला प्रशासनमा बैठक बसेर यहाँभित्रका समस्याबारे छलफल गर्नुपर्ने बताए ।










