अब आइतबारको साटो शुक्रबार शेयरबजार खुल्ने भएको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेसंगै अब आइतबारको साटो शुक्रबार शेयर कारोबार हुने भएको हो।
हिजो आइतबार साँझ बसेको नेप्सेको संचालक समितिको बैठकले आइतबारको साटो शुक्रबार शेयरबजार खोल्ने निर्णय गरेको हो। आइतबार भने शेयरबजार र नेप्से कार्यालय पनि बन्द रहने छ।
पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो। सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार चैत्र २३ गतेदेखि लागु हुने गरि सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतबार विदा दिईने छ। अन्य कार्य दिनमा भने सबै सरकारी कार्यालयहरु ९ बजेदेखि ५ बजेसम्म संचालन हुने छन् ।
हाल शेयरबजार आइतबारदेखि बिहीबारसम्म खुला रहेर कुल ५ दिन शेयर कारोबार हुँदै आएको छ। सरकारले आइतबार सार्वजनिक विदा दिएपछि सो दिन शेयर कारोबार हुने छैन र त्यसको साटो शुक्रबार कारोबार हुने छ।
यस अघि २०७९ सालमा पनि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन अहिलेको जस्तै शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। त्यस समय पनि आइतबारको साटो शुक्रबार शेयर कारोबार गरिएको थियो। तर परिक्षणको कालको दुई दिन विदा दिइएकोले सो निर्णय एक महिना मै उल्टियो । सो एक महिनाको अवधिमा शुक्रबार शेयर कारोबार गरिएको थियो।
अहिले पनि त्यसैगरि शुक्रबार शेयर कारोबार हुन लागेको हो । हाल शेयरबजार समबन्धि विभिन्न नियमावली र विनियमावलीमा शेयरकारोबार आइतबारदेखि बिहीबार हुने उल्लेख छ। मन्त्रिपरिषद बैठकबाट नै निर्णय भएकोले ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन नै नगरी शुक्रबार शेयर कारोबार संचालन गर्न लागिएको हो। मन्त्रिपरिषद बैठकबाट नै निर्णय भएकोले ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन गर्नु नपर्ने नेप्सेले जनाएको छ।









