बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। कार्तिक २ गते सिडिएससी, निष्काशनकर्ता कम्पनी तथा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।
अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।
कम्पनीले भदौ ११ देखि भदौ १५ गतेसम्म आम सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओ भदौ ३० गते सोमबार बाँडफाँड भएको थियो ।
कम्पनीले तनहुमा केवलकार र होटेल संचालन गरिरहेको छ। केवलकार मार्फत बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट बन्दीपुर मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिन्छ।











