बंगलादेशको केन्द्रीय बैंक (बंगलादेश बैंक) ले अर्थतन्त्रलाई गति दिन र बन्द कारखानाहरू पुनः सञ्चालन गर्न ६०० अर्ब टाका (झन्डै साढे ७ खर्ब नेपाली रुपैयाँ बराबरको) को ठूलो राहत प्याकेज घोषणा गरेको छ। यो घोषणा बंगलादेश बैंकका गभर्नर मोस्ताकुर रहमानले पत्रकार सम्मेलन मार्फत गरेका थिए।
बंगलादेशको अर्थतन्त्र हाल मन्दीको अवस्थामा छ। धेरै कारखानाहरू बन्द भएका छन्, निर्यात घटेको छ, निजी क्षेत्रको लगानी घट्दो छ र बेरोजगारी बढिरहेको छ। यस्तो अवस्थामा बन्द उद्योगहरू चलाउने, रोजगारी सिर्जना गर्ने, कृषि तथा ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने र समग्र आर्थिक पुनरुत्थानका लागि यो प्याकेज ल्याइएको हो।
कुल ६ खर्ब टाका को यो प्याकेज दुई भागमा विभाजित छ। जसमा ४ खर्ब १० अर्ब व्यावसायिक बैंकहरूको अतिरिक्त तरलता (excess liquidity) बाट उठाइने छ। बैंकहरूलाई कम्तीमा ३ वर्षका लागि १०% ब्याजदरमा दीर्घकालीन निक्षेपको रूपमा जम्मा गर्नुपर्नेछ। बाँकी १ खर्ब ९० अर्ब टाका बंगलादेश बैंकको आफ्नै कोषबाट परिचालन हुने छ, जसमा सरकारको ग्यारेन्टी रहनेछ।
कुल ६ खर्ब टाका मध्ये २ खर्ब टाका बन्द तथा संकटग्रस्त कारखाना पुनः सञ्चालन गर्न, १ खर्ब टाका कृषि र ग्रामीण अर्थतन्त्र विकासको लागि, ५० अर्ब टाका साना तथा मध्यम उद्योगको लागि, ३० अर्ब टाका निर्यात विविधीकरणको लागि र ३० अर्ब टाका कृषि हबको लागि प्रयोग हुने छ । बाँकी रकम प्रि–शिपमेन्ट क्रेडिट, स्टार्टअप, विदेशी रोजगारी जस्ता लक्षित योजनाहरूमा प्रयोग हुनेछ।
यो ऋण सुविधा (रिफाइनान्सिङ) हो। व्यावसायिक बैंकहरूले यो कोषबाट सस्तो ब्याजदरमा ऋण दिनेछन्। ठूला उद्योगका लागि ब्याजदर करिब ७% हुने अनुमान छ। यो अनुदान होइन, ऋण हो जसलाई फिर्ता गर्नुपर्नेछ।
यस प्याकेजले केन्द्रीय बैंकका लागि तरलता व्यवस्थापन राम्रो हुन्छ र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्छ। अन्य बैंकहरूका लागि अतिरिक्त तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अवसर मिल्छ र १०% ब्याजमा सुरक्षित निक्षेप राख्न सकिन्छ। निजी क्षेत्रका लागि बन्द कारखाना खुल्छन्, नयाँ लगानी बढ्छ, उत्पादन र निर्यात बढ्छ, रोजगारी सिर्जना हुन्छ। यो प्याकेजले झन्डै २५ लाखनयाँ रोजगारी सिर्जना गर्ने अनुमान बंगलादेश बैंकको छ।
ऋण नतिर्ने (डिफल्टर) र बारम्बार पुनर्संरचना गरेका ऋणीहरूलाई कडा शर्त लागू हुन सक्छ। सरकारको ग्यारेन्टी भएकाले जोखिम कम छ। यो २०२६ को आर्थिक पुनरुत्थानको सबैभन्दा ठूलो कदम मानिएको छ। विस्तृत कार्यान्वयन निर्देशिका चाँडै व्यावसायिक बैंकहरूलाई पठाइने छ।
यो प्याकेजले बंगलादेशको अर्थतन्त्रलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।












