नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको थियो। नेप्सेले असोज १ गतेदेखि बजार खोल्ने गरि धितोपत्र बोर्डमा प्रस्ताव पठाईसकेको थियो।
तर आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो।
यस संगै अब शेयर बजार बिहीबारदेखि खुल्ने छ। यसबारे निर्णय गर्न भदौ ३१ गते बिहान धितोपत्र बोर्डको संचालक समितिको बैठक बोलाईएको छ। बोर्ड बैठकले बिहीबारबाट बजार खोल्ने निर्णय गर्ने बताईएको छ।
यस अघि बजार दुई घण्टा मात्र खुल्ने, सर्किट ब्रेकको नियम परिवर्तन हुने हल्ला चले पनि ति सबै निराधार भएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ। बिहीबारदेखि साविक कै नियम र समय अनुसार बजार खुल्ने छ। धितोपत्र बोर्डले निर्णय गरेपछि नेप्सेले यसबारे सूचना जारी गर्ने छ।
यस अघि बजार असोज ५ गतेदेखि मात्र खुल्ने निर्णय नेप्सेले गरेको थियो। तर नयाँ सरकार गठन भईसकेको, निषेधाज्ञा र कर्फ्यु समेत हटिसकेको, र जनजीवन सामान्य भईसकेकोले अब सो मिति अगावै बजार खोल्ने तयारी गरिएको हो।
विभिन्न लगानीकर्ता संघहरुले राजनीतिक स्थिरता नभएसम्म बजार नखोल्न माग गर्दै आएका थिए।









