३ बजे शेयरबजार बन्द भएपछि र त्यसको केही समयपछि शेयरबजार परिसूचक नेप्से सूचक फरक फरक हुनु सामान्य जस्तै भईसकेको थियो । त्यसको कारण हो गत चैत्र ७ गते बिहीबारदेखि लागु भएको अन्तिम कारोबार मूल्य कायम गर्ने विधि परिवर्तन गरिनु ।
तर आज सोमबारको घटनाले भने शेयरबजारको सूचक गणना विधि, र भारित औषत गणना गर्ने विधि र प्रक्रियामा मात्र नभई त्यसको पारदर्शीतामाथि नै गम्भीर प्रश्न उठेको छ । आज सोमबार ३ बजार शेयरबजार हुँदा सूचक १२.१३ अंकले बढेर २९७६.३३ को बिन्दुमा बन्द भएको देखिएको थियो । बजार दोहोरो अंकले नै बढेकोले भारित औषत गणना पछि पनि बजार हरियो नै हुने अनुमान लगानीकर्ताको थियो।
तर त्यसको ठिक विपरित भैदियो किनभने जब भारित औषत गणना पछिको सूचक आयो बजार घटेको देखियो। भारित औषत गणना पछिको सूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा रहेको देखाईयो । गत चैत्र ७ गते बिहीबारदेखि लागु भएको नयाँ विधि अनुसार नियमित कारोबार सत्रमा अपरान्ह २:४५ बजेदेखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिन्छ र सोहि अनुसार सूचक तय गरिन्छ। तर आजको कारोबारमा अन्तिम १५ मिनेटमा सूचकमा त्यस्तो धेरै उतारचढाव थिएन । त्यस कारण ३ बजे दोहोरो अंकले बढेको बजार भारित औसत अनुसार समायोजन हुँदा रातो हुनु अस्वाभाविक नै थियो।
लगानीकर्ताहरुले शंका गर्न थालेपछि नेप्सेले नै यसबारे अध्ययन गर्न थाल्यो। सरोकारवालाहरुबाट आएको नेप्से परिसूचक
गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको जानकारी नेप्सेले दियो। पछि नेप्सेले गल्ती स्वीकार गर्यो। कारोवार प्रणालीमा कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएको भन्दै नेप्सेले उक्त समस्या समाधान गरिएको बतायो। जब समस्या समाधान भएको भनियो नेप्से सूचक ७.१० अंकले बढेर २९७१.३१ अंकमा पुगेको देखियो। यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौं भनेर नेप्से पन्सिएको छ।
तर यस घटनाले केही गम्भीर प्रश्न उब्जेका छन्।
पहिलो – के लगानीकर्ताले शंका गरेर विषय उठान नगरेको भयो नेप्सेले यस बारे अध्ययन गरेर सूचक सच्च्याउने थियो ?
दोस्रो- अन्य दिनमा पनि जब अन्तिम सूचक र भारित औषतपछिको सूचकको अन्तर धेरै थिएन, ति दिनमा पनि आजको जस्तो फरक अंक तय भएको थिएन भन्ने के ग्यारेन्टी छ ?
तेस्रो – कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने विधि, प्रक्रिया र प्रविधि विश्वसनीय र पारदर्शी छ ?
यी आम लगानीकर्ताले उठाएका प्रश्नहरु हुन् । लगानीकर्ता शिव चन्द्र कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने विषय तर्क सङ्गत नभएको बताउछन् । बजारलाई स्वतन्त्र र पारदर्शी हिसाबले चल्न दिन उनले आग्रह गरेका छन्। उनी भन्छन् ‘चार बाह्रको नियम , कारोबारको अन्तिम १५ मिनेटको एभरेजिङको नियम , कारोबार अवधिमा फ्लोर शिटमा खरिद बिक्रीमा ब्रोकर लुकाउने नियम , बैंक तथा बित्तिय सँस्थाले अल्पकालिन सेयर कारोबार गर्न नपाउने लगायतका नियमहरु बिना आधार कुनै ब्यक्तिको सनकको कारण उसको गोजीबाट निकालेर लादिएको नियम हो । जुन कुनै पनि हिसाबले तर्क संगत छैनन् । बजारलाई स्वतन्त्र र पारदर्शी हिसाबले चल्न देउ ।’
लगानीकर्ता राजु शर्मा पौडेल कारोबारको अन्तिम १५ मिनेटको एभरेजिङको नियम हटाउनु पर्ने बताउछन् । यो नियमको साटो अन्तिम १५ मिनेटको एमकेटी हटाउनु उचित हुने उनको सुझाव छ।
समग्र सूचकमा मात्र नभई लगानीकर्ताले कम्पनीको मूल्य समायोजनमा विधिमा प्रश्न उठाएका छन् । कतिपय लगानीकर्ताले यो नियम नभएको भए बजारले सहजै ३ हजारको बिन्दु कायम गर्ने दाबी गरेका छन्।
अन्तिम १५ मिनेटको भारित औसत गणना विधिको प्रक्रिया र पारदर्शीतामा प्रश्न उठिसकेको छ। अब नेप्सेले आजको घटनाबारे छानबिन/अध्ययन समिति बनाई, कमजोरी पत्ता लगाएर लगानीकर्तालाई जानकारी गराउनु पर्छ । साथै यसबारे अध्ययन गरेर भविष्यमा यस्तो हुन नदिन नेप्सेले के गर्छ भन्ने विषय पनि नेप्सेले सार्वजनिक गर्नु पर्छ। यदि समस्या जटिल छ भने यो नियमलाई केही समय स्थगन गरेर समस्या समाधान गरेर मात्र फेरि कार्यान्वयनमा ल्याउनु पर्छ। अन्यथा भविष्यमा पनि यस्ता समस्या आईनै रहने सम्भावना रहन्छ।
के हो अन्तिम १५ मिनेटको भारित औषत विधि ?
नेपाल स्टक एक्सचेन्ज नेप्सेले चैत्र ७ गते बिहीबारदेखि अन्तिम कारोबार मूल्य कायम गर्ने विधि परिवर्तन गरेको हो । नयाँ विधि अनुसार नियमित कारोबार सत्रमा अपरान्ह २:४५ बजेदेखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिन्छ । उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ ।
चैत्र ५ मा बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई चैत्र ७ गतेबाट कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
विनियमावली दफा ११ मा कारोबार सञ्चालन सम्बन्धि व्यवस्था छ। जसमा बिहान १०ः३० देखि ११ः०० बजेसम्म प्रारम्भिक कारोबार हुने, मध्यान्ह ११.०० देखि ३.०० बजेसम्म बोलकबोल र निरन्तर कारोवार हुने तथा अपरान्ह ३.०० देखि ३.०५ बजेसम्म अन्तिम कारोबार हुने उल्लेख छ। हाल अन्तिम कारोबार भने हुने गरेको छैन।
तर अन्तिम कारोबारले परिकल्पना गरेको व्यवस्था भने बोलकबोल र निरन्तर कारोबार समयको अन्त्यमा व्यवस्था गरिएको हो । संशोधित विनियमावलीको व्यवस्था अनुसार अहिले २:४५ बजेदेखि ३ बजेसम्म अन्तिम कारोबार भईरहेको हो। यस समयमा हुने कारोबारको भारित औसत मूल्य कायम गरिन्छ। र सो दिनको अन्तिम कारोबार मूल्य पनि २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य नै हुन्छ।
यस अघि शेयरबजार बन्द हुनेबेलामा अन्तिम केहि सेकेण्डमा थोरै कित्ता शेयर कारोबार गरेर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लगाउन सम्भव हुने अवस्था थियो। एमकेटी फिचर मार्फत अन्तिम समयमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लगाउने गरेको देखिएको थियो। त्यहि मूल्य नै सो दिनको अन्तिम कारोबार मूल्य (एलटीपी) हुन्थ्यो भने सोहि मूल्य नै दोस्रो दिनको लागि सुरुवाती मूल्य कायम हुन्थ्यो। त्यसलाई रोक्न नै नेप्सेले विनियमावली संशोधन गरेको हो । संशोधित व्यवस्था अनुसार अहिले २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य तय गरिन्छ। यसो हुँदा २:५९ पछि कम्पनीको शेयर मूल्य सर्किट लागेपनि सर्किट लेभलमा अन्तिम कारोबार मूल्य तय हुँदैन । २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य कायम हुन्छ।
अर्थात् नेप्सेले अन्तिम कारोबार मूल्य (एलटीपी) गणनाको व्यवस्था संशोधन गरेको हो। २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य र दोस्रो दिनको सुरुवाती मूल्य कायम हुने गरि नयाँ व्यवस्था गरिएको हो।
यसो हुँदा विशेष गरि कम पुँजी भएका अर्थात् लो क्याप कम्पनीको शेयरमा अन्तिम सेकेण्डमा सर्किट लाग्ने क्रम रोकिने विश्वास नेप्सेको थियो। यसले साना कम्पनीको शेयर मूल्यमा अन्तिम समयमा हुने चलखेल रोकिने विश्वास पनि नेप्सेले गरेको थियो । नेप्सेको विश्वास अनुरुप नै अन्तिम मिनेटमा लाग्ने गरेका सर्किट रोकिए पनि यस नियमको विधि, प्रक्रिया र पारदर्शीताबारे भने गम्भीर प्रश्न उठेको छ।









