धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
यस सम्झौतामा धनुषा डिष्टिलरीको तर्फबाट अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले भविष्यमा जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो ।
सन् १९९८ मा स्थापना भएको यस कम्पनीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१,८०,००० लिटर रहेको छ । हाल कम्पनीले मुख्य रूपमा प्रिमियम ब्रान्डका मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
आगामी दिनमा कम्पनीले थप नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारी गरेको छ । साथै, उत्पादनको गुणस्तर कायम राख्दै उत्पादनको विविधीकरण र विस्तार गर्ने तथा नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुने लक्ष्य लिएको छ ।









