रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १० अर्ब ४५ करोड ९६ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको उत्पदन बिक्रीको आम्दानी १० अर्ब २३ करोड थियो।
यस अवधिमा कम्पनीको उत्पादन बिक्रीको लागत भने ८ अर्ब ७४ करोडबाट बढेर ९ अर्ब ७ करोड पुगेको छ। कम्पनीले अन्य आम्दानी शिर्षकबाट २ करोड ६६ लाख आर्जन गरेको छ। कम्पनीको ब्याज खर्च ४४ करोड ३४ लाखबाट घटेर २६ करोड ९८ लाख कायम भएको छ । कम्पनीको संचालन नाफा ७४ करोड रहेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा ३९ करोड ९० लाख रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १६.१४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख थियो ।
कम्पनीले पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका कारण आर्थिक वर्ष २०८२/८३ मा नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा करिब १२.३७ प्रतिशतले अवमूल्यन हुँदा नाफा प्रभावित उल्लेख गरेको छ। कम्पनीका अनुसार कम्पनीको कच्चा पदार्थ खरिद मुख्यतया अमेरिकी डलरमा हुने तथा कम्पनीसँग अमेरिकी डलरमा आधारित कर्जा समेत रहेकाले, समीक्षा वर्षमा कम्पनीले रु. २०.०२ करोड विदेशी विनिमय हानि व्यहोर्नुपरेको छ, जसमध्ये रु. ८.१० करोड डलर कर्जाको पुनर्मूल्याङ्कनबाट सिर्जित गैर – नगद ( unrealized) प्रकृतिको हो । यस अवधिको खुद नाफामा परेको मुख्य असर यही विदेशी विनिमय हानि भएको कम्पनीले जनाएको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी २२.०४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ५०३.३२ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीले तरलता लगायत अन्य कुरा सन्तोषजनक रहेको जनाएको छ। हालसम्म बैकहरुबाट लिएको कर्जाको साँवा ब्याजको भुक्तानी नेपाल राष्ट्र बैकको निर्देशन पालना गर्दै निर्धारित समयमानै भुक्तानी भईरहेको कम्पनीले उल्लेख गरेको छ।









