होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आगामी सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते सोमबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म आम सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।
यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।









