होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।









