प्रिमियर डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।
कम्पनीले रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा माघ ६ गते काठमाडौं थापाथली स्थित प्रिमियर डिष्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
वि.सं. २०६४ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो, जसले भोड्का, ह्विस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन – बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल (Grain Based Extra Neutral Alchohol GENA) उत्पादन गर्दछ । नेपालको सबैभन्दा आधुनिक स्वचालित बोटलिङ लाइन र उच्च गुणस्तरीय नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै प्रयोगका साथै देशभरका अन्य बोटलिङ उद्योगहरूलाई पनि स्पिरिट आपूर्ति गर्दै आयातमा निर्भरता घटाई घरेलु आत्मनिर्भरतालाई सुदृढ बनाएको कम्पनीले जनाएको छ।
यस डिस्टिलरीमा “द हिमालयन रिजर्भ ” हिवस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन गरिने “ओल्ड मड्ड रम” सहित अन्य वभिन्न मदिराका ब्रान्डहरू उत्पादन हुँदै आएका छन् । अत्याधुनिक प्रविधि, दिगो सञ्चालन पद्धति तथा ठूलो लगानीमार्फत प्रिमियर डिस्टिलरी लिमिटेडले नेपालको स्पिरिट्स उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्दै आएको कम्पनीले उल्लेख गरेको छ ।









