एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यस अघि भदौ २९ गतेदेखि शेयर निष्काशन गर्ने भनेकोमा जेनजी आन्दोलनको कारण आईपीओ स्थगित गरिएको थियो ।
अब कम्पनीले असोज ७ गतेदेखि चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्ने छ । कम्पनीले स्थानीयलाई २ लाख ६१ हजार ६ सय २७ कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ९७ हजार ९२ कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।
यो कम्पनीले प्यानल उत्पादन गर्छ। यो कम्पनी दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो। SY CO. LTD. लाई एसियाको नम्बर १ प्यानल निर्माताको रूपमा चिनिन्छ। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्छ । जुन लागत-प्रभावी, बलियो र कुशल हुनुका साथै अत्यधिक तातो वा चिसो हावापानीका लागि उत्कृष्ट इन्सुलेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले डिजाइनदेखि निर्माणसम्म सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्दै भूकम्प-प्रतिरोधी संरचनाहरूका लागि पूर्ण समाधान प्रदान गर्ने पनि जनाएको छ । कम्पनीले कोरियाली स्यान्डविच प्यानल, UPVC झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँने गरेको छ।









