प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफूले निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटललाई अन्डर राइटरमा नियुक्त गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले हस्ताक्षर गरेका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले मिति २०८०÷०२÷०८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८०÷०३÷३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ । कम्पनीले आफनो लक्षित वर्गको आवश्यकता र आकांक्षाहरुलाई पुरा गर्न विविध लघुबीमालेखहरु मार्फत पहुँच योग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउदै आएको छ ।
हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरुमार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।









